पाेखरामा महिलाले नै लुटे सहकारी, साढे ५ लाख सहित प्रहरीले पक्रियो ३ जना

पोखरा, असोज १० ।
पोखराको सिर्जनाचोकमा रहेको जनएकता सहकारी लुटेराहरु पक्राउ परेका छन् । कास्की प्रहरीको सक्रियतामा दुई महिला सहित तीनजनालाई पक्राउ गरिएको हो ।

भदौ ३१ गते भवनको तल्लो तलाको सटर फोडी काउण्टरमा राखेको ९ लाख १४ हजार रुपैयाँ चोरेर उनीहरु फरार थिए । प्रहरीले निरन्तर अनुसन्धान र खोजी गरेपछि आज विहान बुलौंदीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा–१५ रामबजार बस्ने २० बर्षिया अन्जली गुरुङ, पोखरा–७ एयरपोर्ट बस्ने २२ बर्षिया बिनिता गुरुङ र पोखरा–६ गौरीघाट बस्ने १८ बर्षिय कमल ठगुन्ना छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५ लाख ३८ हजार ८० रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जना लाई म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।