पालिखेचोकको सुन्दर स्वरुप

पोखरा, जेठ २२ ।
सबैभन्दा साँघुरो चोक थियो, बर्षदिन अघिसम्म । घरकै बीचबाट सडक खन्दा जसोतसो काम चलिरहेको थियो, सुरुमा । पछि शहर विस्तार हुँदै गयो । गाडीको चाप पनि बढ्दै गयो । पूरानै सडकले काम नचल्ने भयो । अहिले पोखरा महानगरपालिका सडक विस्तारमा लागिरहेको छ ।

साँघुको मुख पोखरा ३, ४ र ९ को संगम हो । पूराना घरहरुका कारण यो चोकलाई फराकीलो बनाउने महानगरले घोषणा ग¥यो । स्थानीयलाई मुआब्जा दिएर घर भत्काईयो । अहिले त्यही साँघुरो चोक सुन्दर बनेको छ ।

फराकीलो सडक छ । बीचमा रंगीचंगी फूलहरुको बँगैचा छ । पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाको संयोजकत्वमा यो चोकलाई बँगैचासहित फराकीलो पारिएको हो ।

३२ लाख ५८ हजारमा बाटो र नाला बनाउने टेण्डर निकालिएकोमा २० लाख ६४ हजारमै काम पूरा भैसकेको अध्यक्ष बास्तोलाले बताए । त्यसबाहेक ६३ हजारको लागतमा फूलबारी बनाईएको हो । ‘सुरुमा निकै सकस थियो । सुरु कसले गर्ने भन्ने तनावमा थियो महानगर,’ बास्तोलाले भने, ‘पछि घरधनीहरुले धेरै सहयोग गर्नुभयो । चलनचल्ती भन्दा पनि घटेर मुआब्जा लिनुभयो, उनले भने, राज्यले जनताबाट पाउने साथ भनेकै यही हो । अहिले चोक सुन्दर बन्यो ।’

सोही बँगैचामा शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहितको उपस्थितिमका विश्व वातावरण दिवस मनाईएको छ । गुरुङले बृक्षारोपण गरे । स्थानीय तहले गर्ने यस्ता कामबाट जनप्रतिनिधिको उत्कृष्ट नमुना देखिएको गुरुङले सुनाए । मेयर मानबहादुर जिसीले पोखराका सबै चोकहरुलाई आकर्षक बनाउन महानगरले विभिन्न काम गरिरहेको बताए ।