पार्टी एकीकरण फागुनभित्रै–प्रदीप ज्ञवाली

पोखरा, पुस २२ ।
एमाले नेता प्रदीप ज्ञवालीले फागुनभित्रै पार्टी एकीकरण हुने बताएका छन् । एमाले र माओवादी दुवैले आफ्ना प्रपोजल तयार गर्ने काम गरिरहेको भन्दै फागुनभित्रैमा सोलिड फर्मेसन तयार गर्ने उनले बताए । ‘शीर्षनेताका बीचमा नियमित सम्बाद भैरहेको छ । दुवै पार्टी प्रपोजल बनाउने काममा ब्यस्त छन्, उनले भने–ढिलोमा फागुनभित्रै सोलिड फर्मेसन बनाएर सार्वजनिक गर्छौं ।’ उनले पार्टी एकीकरणबारे बाहिर आएका हल्लामा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । पार्टी एकता नेताको ब्यवस्थापन नभई भद्रगोल देशको ब्यवस्थापनमा केन्द्रित हुने उनको दावी छ ।
प्रेस चौतारी र प्रेस सेण्टर कास्कीको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सरकार गठनमा भएको ढिलाईप्रति कटाक्ष गरे । ‘लोकतन्त्रको सामान्य मान्यता ताजा जनादेश आएपछि नयाँ सरकार गठनको बाटो खुल्छ । जनता स्थिर सरकारको ब्यग्र प्रतिक्षामा छन्, उनी भन्छन्–जनादेशको भावना विपरित वर्तमान सरकारले सत्ता लम्ब्याउने बहानाबाजी गरिरहेको छ । यो लोकतन्त्र विरुद्धको कदम हो ।’ सत्तामा जाने ब्यग्रताले आँफुहरुले हतार नगरेको भन्दै उनले जतिसक्दो छिटो समानुपातिक मतपरिणाम सार्वजनिक गरेर सरकार गठनको ढोका खोलिदिन निर्वाचन आयोगसँग आग्रह गरे । उनले सरकारको काम क्षणिक स्वार्थपुर्तिका लागि भएको टिप्पणी गरे ।