पार्टी एकताबारे निर्णय गर्न एमालेको आकस्मिक बैठक

काठमाण्डौं, फागुन २ ।
माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् । मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ । ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ । एमालेको बैठकअघि ओली र प्रचण्डबीच सोही घरमा बैठक भइरहेको छ ।