पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै

काठमाडौं, वैशाख ९ ।

पार्टी एकताको विषयमा आशंका बढिरहेको बेला नेकपा एमाले र माओवादी केन्द्रले आइतबार संयुक्त कार्यक्रम गर्दैछन् । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर दुवै पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिन लागेका हुन् । सरकारको नेतृत्व गरिरहेको एमाले र माओवादी सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट सन्देश दिन जुटेका हुन् ।

पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा दिउँसो हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । गएको असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसदमा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन् ।

स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरुको पनि बुझाइ छ । दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो ।