पारसको अवस्था नाजुक, थाईल्याण्डमा रहेकी हिमानी आजै नेपाल फर्किँदै

ललितपुर, माघ १५ ।
पूर्वयुवराज पारस शाहको करिब एक घन्टाको पाटन बसाइ सोमबार धेरैका लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उनी पाटन गएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

अपरान्न १२ बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा शाहलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो । शाहको प्रतिक्षामा बिहान १०ः१५ देखि मंगलबजारमा जमघट शुरू भएको थियो । शाहलाई सुरक्षा दिन ललितपुरका विभिन्न स्थानबाट युवाको अलग–अलग समूह आएको थियो ।

२० मिनेटसम्म पुजा गरेपछि शाह हिँडेर करिब ३ सय मिटर पर रहेको हिरण्यवर्ण महाविहार गएका थिए । यता पूर्वयुवराज पारस शाह हृदयघातका कारण नर्भिक अस्पताल भर्ना भएका छन् । पाटनमा डेढ घन्टाअगाडि पूजामा व्यस्त भएका उनलाई एक्कासि छाती दुखेपछि आफन्त शीतल सिंहले अस्पताल भर्ना गराएका थिए ।

पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरेको बताइएको छ। एन्जियोप्लास्टीपछि मुटुको भल्व खोल्न सफल भएकाले स्वास्थ्यमा सामान्य सुधार आएको अस्पतालले जनाएको छ । पारसलाई योसहित तेस्रोपटक हृदयघात भएको हो । उनलाई हृदयघात भएपछि थाईल्याण्डमा रहेकी पूर्व युवराज्ञी हिमानी आजै नेपाल फर्किँदै छिन् ।

भ्रमणको सिलसिलामा सिमरामा रहेकी पूर्वरानी कोमल जहाजको टिकट नपाएपछि सोमबार नै रात्रिगाडीमा काठमाडौं फर्केकि छिन् । कोमलका सहयोगी सुदन थापाले जहाजको टिकट नपाएपछि हतारमा गाडीबाटै काठमाडौँ फर्काउने निर्णय भएको हो ।

सिमरामै रहेका पारसका बुवा तथा पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारै खबर पाए पनि आज हवाईजहाजबाटै काठमाडौँ फर्किने तयारी रहेको बताइएको छ ।