पाथर्दीबासीको इलम–घरभरी पाहुना, खोरभरी बाख्रा

प्रकाश ढकाल
पाथर्दी (तनहूँ), चैत २५ ।
‘शिव कुमार आले । उमेर २५ बर्ष । पढाई ओभरसियर । पेशा बाख्रा पालन ।’ गाउँघरमा यस्ता उमेरका मान्छेहरु मुश्किलले भेटिन्छन् । त्यसमाथी गाउँमै इलम गरेर भुल्नेहरु पाउन त झनै मुश्किल पर्छ । कुनै सरकारी जागिर वा अरु कुनै प्रोजेक्टको जागिरे भए त ठीकै हो । आफ्नै लगानी गरेर बाख्रा पाल्नु चानेचुने कुरा होईन । त्यसमाथी पढेलेखेका मान्छे गाउँमा भेट्न कहाँ सजिलो छ ?

सबै यूवाहरु गाउँ छोडेर शहर छिर्दा शिवलाई पनि शहर झर्ने मन नभएको चाहीँ होईन । तर बाँझो जमिन, रित्तो घर छोडेर गाउँबाट निस्किन उनको मनले मानेन । २०६८ सालमा बन्दीपुरबाट ओभरसियर सकेका उनी त्यही बर्षदेखि गाउँ फर्केर बाख्रापालनमा मज्जैले जमेका छन् । शिवले बाख्राको खोर बनाउन थाल्दा धेरैले अचम्म मानेर भन्थे–‘सहरमा जागिर पाईनस् र ?’

आलेको खोरमा अहिले ७० वटा बाख्रा छ । बाख्रा बेचेरै उनले बर्षेनी १० लाखभन्दा बढी कमाउँछन् । गाउँले दंग छन् । आलेको काम र कमाइ देखेर गाउँभरिका मान्छे बाख्रा पालनमा लागेका छन् । आले कृषिमा लागेपछि १ बर्ष इजराइल बस्न पाए । अनि आँफुले जानेको सीप लिएर गाउँमै फर्केर पौरख गर्न थाले ।

‘बाख्रा पाल्न थालेपछि साना किसान लघुवित्तले ११ महिना इजराइल पठायो । उता बस्दा पशुपालन र कृषि पेशालाई राम्रैसँग बुझ्ने मौका पाएँ, उनले भने–फर्किएर बाख्राको ब्यवसायिक पालन सुरु गरें । गाउँभरीका मान्छे पनि बाख्रा पालनमा लागेका छन् ।’ भीमाद नगरपालिका ९ पाथर्दी गाउँका ६० परिवार पूर्ण रुपमै बाख्रापालन गरिरहेका छन् ।

शिवकै काका टेकबहादुर आलेले बाख्रा बेचेर बर्षमा ५ लाख भन्दा बढी भित्र्याउँछन् । उनको खोरमा पनि ४५ भन्दा बढी बाख्रा छन् । १० लाख खर्च गरेर आधुनिक खोर बनाएका छन् । ३ लाख खर्चेर विदेशबाट बोयर जातको बोका ल्याएका छन् । ‘३ लाखको बोका भन्दा अचम्म मान्थे मान्छेहरु । यसको कमाइ देखेर आँफै छक्क पर्छन्, उनले भने–ब्याड पालेपनि पैसा । बेचेपनि पैसा । जे गरेपनि अहिले त पैसै पैसा । कमाई धेरै राम्रो छ ।’

२०७१ सालमा हेफर इन्टरनेशनल नामक गैर सरकारी संस्थाले जीवीको पार्जनलाई लक्षित गरी किसानलाई सघाउन थालेपछि पाथर्दी गाउँको रुप नै फेरिएको छ । सबैका घरघरमा बोयर जातका बाख्रा छन् । ‘एउटै बाख्राले ३ वटासम्म पाठापाठी जन्माउँछ । एउटा पाठो ३ महिना पाल्यो भने २० हजारसम्म कमाइ हुन्छ, टेकबहादुर भन्छन्–बर्षको ५ लाख त कतै जाँदैन । पाल्न सके अझै राम्रो आम्दानी हुन्छ । तर गाउँमा मान्छे बस्दैनन् । किसानी गर्न गाह्रो छ ।’

पाथर्दी अहिले बाख्रा गाउँको रुपमा परिचित भैसकेको छ । बन्दीपुर, पोखरा, धादिङ, काठमाण्डौं, झापा, महेन्द्रनगर तिरबाट पनि बाख्रा र खसीबोका किन्नेहरु पाथर्दी पुग्छन् । बाख्रा पाल्न थालेपछि गाउँलेले गाई भैंसी पाल्न छोडे । बाख्रा पालनकै लागि गाउँलेले घाँसखेतीको सामुहिक नर्सरी बनाएका छन् । नर्सरीबाट विरुवा लगेर आफ्नो खेतबारीमा सार्छन् । ‘सुरुमा त गाउँमा बसेर बाख्रा पाल्ने बुद्धी नभएको पनि भन्थे । कतिले विदेश जान सल्लाह दिन्थे, शिव भन्छन्–अहिले गाउँले सबै मेरै जस्तो इलम गर्छन् । मेरै झैं पैसा कमाउँछन् ।’

अर्की स्थानीय देवी मोक्तान आले अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष छिन् । हेफरले बाख्रा सहयोग गरेपछि त्यसलाई दीगो बनाउन सहकारी पनि खोलिदिएको थियो । सहकारीमा २ सय ८० जना शेयर सदस्य छन् । ४२ लाख रुपैयाँभन्दा बढी शेयर जम्मा गरेका उनीहरुले कृषकलाई अप्ठेरो पर्दा तुरुन्तै ऋण सहयोग गर्छन् । ‘२ देखि ५ सयसम्म मासिक बचत गर्छौं । बाख्रा पाल्ने घरका मान्छे मात्रै सहकारीका सदस्य हुन पाउँछन्, उनले भनिन्–बचत भएको रकम गाउँमै लगानी हुन्छ । सहकारीले बाख्रा पाल्नेलाई ऋण लिन पनि सजिलो बनाएको छ ।’

उनका अनुसार सहकारीले १६ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्छ । पाथर्दी बोयर जातका बाख्राको नमूना श्रोत केन्द्रको रुपमा विकास भईरहेको छ । निर्वाहका लागि पाल्ने बाख्रा अचेल पैसा कमाउनका लागि पाल्छन् । यहाँका यहाँका किसानहरुसँग १० भन्दा बढी बाख्रा छन् ।

गाउँलेको किसानीप्रतिको लगावकै कारण गण्डकी प्रदेश सरकारले पनि यही गाउँमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमबाट पहिलो चरणमा ३० लाख भन्दा बढी सरकारले लगानी गर्नेछ । ‘कृषिलाई छोडेर प्रदेश समृद्ध बनाउन सकिँदैन । पूरानै ढाँचाले काम गरेर पनि कृषिबाट आम्दानी हुँदैन, कृषि मन्त्री लेखबहादुर थापा भन्छन्–आधुनिक प्रविधिको प्रयोगले कृषि र पशु उत्पादनमा हाम्रो जोड छ । स्वास्थ्यलाई पनि ख्याल गरेर अर्गानिक उत्पादन गर्न सरकारले विशेष योजना ल्याएको हो ।’

गाउँलेको कृषि पेशाप्रतिको आकर्षण र सम्मानकै कारण पाथर्दीमा यो कार्यक्रम लागू गर्न लागेको उनले सुनाए । वडाध्यक्ष इमान थापा पनि गाउँलाई बाख्रापालनको नमूना गाउँको रुपमा स्थापित गर्ने अभियानमा छन् । ‘सबै ठाउँको आफ्नै बिशेषता हुन्छ । पाथर्दीसँग पशुपालनको सम्भावना छ, उनले भने–नमूना बाख्रापालनको थलो बनाउन सके पर्यटन प्रबद्र्धनमा पनि जोड्न पाईन्छ । त्यसपछि विस्तारै आर्थिक समृद्धी र जनस्तर विकास हुँदै जान्छ ।’

पाथर्दीमा होमस्टे पनि सुरु भएको छ । पूरै मगर जातिको बसोबास रहेको यो गाउँको १० घरमा पहिलो पटक होम स्टे सञ्चालनमा आएको छ । ‘कृषि सहकारीहरु अवलोकन भ्रमण भनेर हेर्न आउँथे । आएका पाहुनालाई कसको घरमा राख्ने ? विस्तारै होम स्टे चलाउनुपर्छ भन्ने धारणा आयो, होम स्टे ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका यूवा कृषक शिव आलेले भने–नगरपालिका सँग सहयोग मागेर गाउँलेलाई होम स्टे चलाउने तालिम दियौं । अहिले घरघरमै होम स्टे छ । पाहुना आउँदा खान बस्न गाह्रो हुँदैन ।’

गाउँका २८ जनाले होम स्टे चलाउने तालिम लिएका छन् । कृषि पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले नै नगरपालिका र प्रदेश सरकारले पाथर्दी गाउँमा अनुदान लगानी गरिरहेको छ । ‘मान्छेहरु किसानले पालेका बाख्रा हेर्न आउँछन् । गाउँमै उत्पादन भएको अन्नपात खान्छन् । होम स्टेमा सुत्छन् । कौरा नाच हेरेर फर्किन्छन्, भीमाद नगरपालिकाका मेयर मेखबहादुर थापा भन्छन्–बाख्रा पालेपनि पैसा । नाचे पनि पैसा । बारीमा फलेका अन्नपातबाट पनि पैसा कमाउँछन् पाथर्दी बासीहरु ।’

उनका अनुसार नगरपालिकाले त्यहाँको होम स्टे ब्यवस्थापन र सडक स्तरोन्नतीमा सहयोग गरेको छ । भीमाद बजारदेखि पाथर्दी नजिक पुग्ने २९ किलोमिटर सडक पक्की बनाउने काम सुरु भएको थापाले बताए ।