पाँच दललाई मात्रै राष्ट्रिय मान्यता, कुन दलको कति सीट ?

काठमाडौं, पुस २ ।
देशभर प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचन मतगणना सकिएको छ । प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ । समानुपातिक तर्फबाट केवल पाँच वटा दलले मात्रै सिट पाउने भएका छन् । प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सिट पाउन सदर मतको ३ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मात्रै समानुपातिक तर्फबाट सिट पाउने भएका छन् ।
एमालेले देशभरबाट कुल ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ । उसले पाएको मत अनुसार समानुपातिक तर्फबाट ४१ सिट पाउने सम्भावना छ । यद्यपि निर्वाचन आयोगले सिट उपलब्ध गराइसकेको छैन । प्रत्यक्षतर्फ उसले ८० सिट जितिसकेको छ । प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसले समानुपातिक तर्फबाट ४० सिट पाउने सम्भावना छ । उसले देशभरबाट समानुपातिकतर्फबाट ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ ।
प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले समानुपातिकतर्फबाट १७ सिट पाउने सम्भावना छ । उसले समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालसँग मिलेर एकल चिह्न गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्नमा समानुपातिकतर्फ चुनाव लडेको थियो। उसले समानुपातिक १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ । समानुपातिकमा राजपाले ४ लाख ७२ हजार २ सय ५४ मत पाएको छ । समानुपातिकतर्फ उसले ६ सिट पाउने सम्भावना छ। प्रत्यक्षतर्फ उसले ११ सिट जितेको छ । समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने पाँचौं शक्ति हो, संघीय समाजवादी फोरम । प्रत्यक्षतर्फबाट १० सिट जितेको उसले पनि समानुपातिकतर्फ ६ सिट पाउने सम्भावना छ । त्यसो भएमा उसको कुल १६ सिट पुग्नेछ । समानुपातिक मत अनुसार, एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
चर्चामा रहेका विवेकशील साझा र नयाँ शक्तिले समानुपातिक तर्फबाट कुनै सिट नपाउने भएका छन् । विवेकशील साझाले प्रत्यक्षतर्फ कुनै निर्वाचन क्षेत्रमा जित्न सकेको छैन । नयाँ शक्तिले भने १ ठाउँमा चुनाव जितेको छ ।
यस्तो हुनेछ प्रतिनिधिसभाको संरचना (प्रत्यक्ष/समानुपातिक)
कुल सांसद (१६५/११०)– २७५
नेकपा एमाले (८०/४१)– १२१
नेपाली कांग्रेस (२३/४०)– ६३
माओवादी केन्द्र (३६/१७)– ५३
राजपा (११/६)– १७
संघीय फोरम (१०/६)– १६
नयाँ शक्ति– १
राष्ट्रिय जनमोर्चा– १
राप्रपा– १
नेपकिपा– १
स्वतन्त्र– १