पहुँचवालाको कब्जामा पोखराको फिर्के खोला

प्रकाश ढकाल
पोखरा, चैत २३ ।
सगरमाथा स्कुलका प्रिन्सीपल धनबहादुर थापाले फिर्केमाथी डोजर चलाउने अनुमतिका लागि फागुन २९ गते महानगरपालिकामा एउटा निवेदन दिए । जतिबेला महानगर फिर्के क्लियर गर्ने काममा ब्यस्त थियो । तुरुन्तै मेयर मानबहादुर जिसीले प्रमुख प्रशासकीय अधिकृतलाई तोकादेश दिए । प्रशासकीय अधिकृतबाट योजना महाशाखा प्रमुख शारदामोहन काफ्ले हुँदै ईञ्जिनियर चिरञ्जीवि भट्टराई र उनले पनि जुनियर ईञ्जिनियर प्रकाश वाग्लेलाई स्थलगत अध्ययन गरी आवश्यक राय सुझाउन आदेश गरे । वाग्लेले अध्ययन गरेर निवेदनमा उल्लेख भएअनुसारको जमिन भवन निर्माणका लागि सम्याउनुपर्ने भन्दै डोजर चलाउन आवश्यक भएको सुझाव पेश गरे । उनकै सुझावका आधारमा डोजर चलाउने अनुमति पाए स्कुलका प्रमुख थापाले । डोजर चलाउनुअघि नै उनले फिर्केमाथी ग्याभिन भरिसकेका थिए । फिल्डमा खटिएका ईञ्जिनियरका अनुसार ग्याभिन नपुर्न सुझाव दिईएको थियो । ‘प्राविधिकको सिफारिसमा ग्याभिन नपुरी जग्गा सम्याउनुस् भनेर डोजर चलाउने अनुमति दिएका हौं । ग्याभिन पुरेको बल्ल जानकारी भयो, महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले भने–यो सरासर कमजोरी हो । अनुगमन गरेर तत्कालै कानुनको दायरामा ल्याउँछौं ।’ कित्ता नम्बर ९, १०, ११६ र ११८ को २ हजार ९ सय ५५ बर्गमिटर क्षेत्रफलमा स्कुलले भवन निर्माणको तयारी गरेको छ । श्रोतका अनुसार त्यो जग्गा पहिले नै प्लटिङ गरिएको ठाउँ हो । प्लटिङकै बेला फिर्केको बहाव परिवर्तन गराएर ड्याम लगाईएको थियो । अहिले सोही ड्याम माथीबाट जाली भरेर पुरिएको छ । स्थानीयका अनुसार अहिले जालि लगाईएको ठाउँ फिर्केको बहाव क्षेत्र हो ।
महानगरले फिर्के खोलामा किनारबाट कम्तिमा १० मिटर छोडेर मात्रै संरचना निर्माण गर्न पाउने प्रावधान बनाएको छ । ‘१० मिटर नछोडी पर्खाल पनि लाउन पाईंदैन । मापदण्ड भित्र परेका कुनैपनि संरचना बाँकी हुँदैनन्, महानगरका ईञ्जिनियर महेन्द्र गोदारले भने–भोलि नै प्राविधिक पठाएर छानविन थाल्छौं । दोषी भेटिए कारबाही हुन्छ ।’ गोदारकै नेतृत्वमा अहिले फिर्केको मापदण्ड कार्यान्वयन बारे अध्ययन भैरहेको छ । विशेषगरी फिर्के खोला आसपासमा बनेका मापदण्ड विपरितका संरचनालाई रेजा लगाउने र त्यसलाई हटाउन महानगरको जोड छ । केही साताअघि मेयर मानबहादुर जिसीले फिर्केको तिरमा पुगेर नापजाँचको काम थालेका थिए । त्यसपछि प्राविधिकलाई जिम्मा लगाएर राईट अफ वे निक्र्यौल गर्ने काम टुंग्याईसकिएको छ । प्राविधिकले फिर्केको राईट अफ वे नापिरहेका बेला पोखराको एक प्रतिष्ठित विद्यालयले फिर्के मिचेर भवन बनाउन डोजर चलाउनु सरकारमाथी अटेरी गरेको महानगरकै अधिकारीले बताएका छन् । पोखरा ४ बागलुङ बसपार्कको आडमा सगरमाथा स्कुलले भवन निर्माणका लागि १ रोपनीभित्र भवन निर्माणका लागि महानगरबाट अस्थायी ईजाजत समेत गैसकेको छ । भवनको अस्थायी स्विकृतिका लागि वडासँग समन्वय भएपनि डोजर चलाउने बारे जानकारी नभएको पोखरा ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाले जानकारी दिए ।  
‘वडा कार्यालयमा १ महिना अघि नै भवन निर्माण र जग्गा सम्याउने स्विकृतिका लागि निवेदन परेको थियो । अध्ययन गर्दा अबैधानिक ठहरियो त्यसैले सिफारिस रोक्यौं, अध्यक्ष बास्तोलाले भने–पछि वडासँग समन्वय नै नगरी अनाधिकृत रुपमा काम भएछ । मलाई थाहा दिईएन ।’ आँफु विदेशमा गएका बेला मौका छोपेर काम गरिएको उनले बताए । बास्तोलाले तत्कालै कारबाहीका लागि महानगरलाई जानकारी पठाउने बताएका छन् । सगरमाथा स्कुलका प्राचार्य धनबहादुर थापाले चाहीँ मापदण्ड छोडेर मात्रै वाल उठाएको प्रतिक्रिया दिए । ‘१० मिटर भनेको ठाउँमा ११ मिटर मापदण्ड खोला किनारबाट छोडिएको छ । खोलामा माटो जाने भएकाले प्रोटेक्सनका लागि मात्रै जाली लगाईएको हो, उनले भने–फिर्केलाई चाहिने मापदण्ड छोडेका छौं । प्रक्रिया अनुसार नै काम गरेको हो ।’ मेयर मानबहादुर जिसीले पनि गलत काम गर्ने कसैलाई पनि छुट नहुने बताए । ‘मापदण्ड सबैले मान्नुपर्छ । महानगरको ध्यान मापदण्ड कार्यान्वयनमा बढी छ, उनले भने–गलत गर्ने कारबाहीको दायरामा आउँछन् । कसैलाई छुट हुँदैन ।’ अध्ययनका लागि तत्कालै प्राविधिक खटाउने र प्राप्त रिपोर्टका आधारमा आवश्यक कारबाही हुने उनको भनाई छ ।
फिर्केको मापदण्ड मिच्ने झण्डै २ सय घरटहरा छन् । सर्वसाधारणदेखि पहुँचवालाले समेत मापदण्ड विपरित संरचना बनाएर प्रयोग गरिरहेका छन् । प्राविधिक रिपोर्ट अनुसार १ सय ९२ घरटहरा मापदण्ड विपरित छन् । तिमध्ये ३ वटा स्कुलमात्रै छन् । पोखरा ईञ्जिनियरिङ कलेज, लिटिल स्टेप बोर्डिङ स्कुल र अमरज्योति स्कुलले मापदण्ड मिचेका रिपोर्टमा लेखिएको छ । सरकारी कार्यालय र सामाजिक संघ संस्था पनि निकै धेरै छन्, फिर्के मिच्ने । १३ वटा सामाजिक संघ संस्था र ७ वटा सरकारी कार्यालयले फिर्केको मापदण्डभित्रै संरचना बनाएका छन् । पोखरा २ स्थित नेपाल पुनमगर समाज, अर्चलबोट आमा समूह, वडा नम्बर ५ को सहनशिल आमा समूह भवन, गिरी कुल मन्दिर, पोखरा क्यान्सर केयर सेन्टर, पोखरा ६ स्थित वडा प्रहरी कार्यालय, प्रहरी अस्पताल, प्रहरी ब्यारेक, जिल्ला अदालत, वडा नम्बर ७ को शसस्त्र प्रहरी कार्यालय, प्रदेश नम्बर ४ प्रहरी कार्यालय, बराल कुल मन्दिर, लायन्स क्लव, पोखरा ८ को बराल समाज, नेपाल मगर संघ, सोंपाल तमू समाज घर, फिर्के तमू समाज घर, बहिरा संघ, राधाकृष्ण बहुउद्देश्यीय भवन र पश्चिमाञ्चल प्रहरी गणले मापदण्ड विपरित घरटहरा बनाएका हुन् । ३० वटा घर सुकुम्बासीका छन् भने अरु पहुँचका भरमा घर बनाएर बसेकाहरु छन् । अबैध रुपमा निर्माण गरिएका संरचनालाई छिटै सूचना निकालेर हटाउन आग्रह गर्ने र नभए महानगरले आँफै हटाउने मेयर जिसीले जानकारी दिए । ‘महानगर मापदण्ड कार्यान्वयन गराउन निर्मम भएर लाग्छ । प्राविधिकको अध्ययन हेरेर जतिसक्दो छिटो सूचना निकाल्ने पक्षमा छौं, उनले भने–सूचना अवधिमा पनि संरचना हटाउन अटेर गरे महानगरले बाध्य भएर हटाउनुपर्छ । यसरी हटाउँदा लागेको खर्च घरधनी स्वयंले ब्यहोर्नुपर्छ ।’ उनले फिर्के सहित सेती नहरलाई पनि क्लियर गर्ने तयारीमा लागेको जानकारी दिए ।