पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

काठमाडौं, वैशाख १३ ।

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाडांैमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो । ‘भारत छोड’ आन्दोलनको क्रममा उहाँ बनारस जेल पर्नुभएको थियो । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो ।

२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो । उहाँ नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ ।