पहिला कर तिर्न सक्ने बनाउछौं अनि कर लिन्छौं–वालिङ मेयर

पोखरा, भदौ २ ।
देशभर अहिले कर आतंक छ । हरेकजसो स्थानीय तहमा जनताहरु करको मारमा थिचिएका छन् । तर केही यस्ता स्थानीय तहपनि छन्, जसले स्थानीय जनतालाई सक्षम बनाएर मात्रै करको दर तोक्ने घोषणा गरेको छ ।

स्याङजाको वालिङ नगरपालिका यतिबेला बाह्य लगानी भित्र्याउने योजनामा निरन्तर लागिरहेको छ । ५ बर्षभित्र स्मार्ट सिटी बनाउने उद्घोषका साथ लागिरहेको वालिङ नगरपालिकाले अहिले जनतासँग कर नलिने बताएको छ । नगरपालिकाका मेयर दिलिपप्रताप खाँणका अनुसार वालिङ नगरपालिका स्मार्ट सिटी र स्मार्ट भिलेजको अवधारणामा गईसकेको छ ।

नगरपालिकाले ५ वटा औद्योगिक क्षेत्र तयार गरेको छ । लगानी सम्मेलन गरिसकेको भन्दै खाँणले उद्योग स्थापना गर्न चाहनेहरुलाई नगरपालिकाले सस्तो मूल्यमा जग्गा उपलब्ध गराईने प्रतिबद्धता जनाए । उनका अनुसार ५ वटा औद्योगिक क्षेत्रमा मात्रै ७ अर्व लगानी हुँदैछ । यसबाहेक पनि १० अर्व लगानी विभिन्न शीर्षकमा भित्रिँदैछन् ।

‘नगरपालिकाले अहिले कर बढाएको छैन । पहिला हामी जनतालाई कर तिर्न सक्षम बनाउँछौ, खाँणले भने–लगानीकर्तालाई आकर्षित गर्नको लागि नगरपालिको कर छुट दिएको छ । लगानीले प्रतिफल दिन थालेपछि कर आँफै उठ्न थाल्छ ।’

लगानी गर्न नसक्नेका लागि चाहीँ नगरपालिका आँफैले लगानी गरिदिनेछ । केही विउपुँजी रकम दिएर लगानीतर्फ आकर्षित गर्ने खाँणको भनाई छ । नगरपालिकाभित्र रहेका उद्योग तथा व्यवसायको बीमाको काम पनि नगरपालिकाले नै गर्ने गर्छ ।