पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका कर्मचारी तलब नपाएपछि काम छोडेर हड्तालमा

पोखरा, असोज ११ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले तलब नपाएपछि काम छाडेर बिहीबारदेखि हड्तालमा उत्रिएका छन् । प्रशासनले आफूहरुमाथि ज्यादति गरेको साथै कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएको कारण विरोधमा उत्रिनु परेको उनीहरुको भनाई छ ।

‘२०६४ सालदेखि नै विभिन्न समयमा मागसहितका ज्ञापनपत्र प्रशासनमा बुझाइरहेका छौं । सहमति पनि हुँदै आएको छ । तर पूरा गरेको छैन,’ प्रतिष्ठान कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले बताए । ‘नियम अनुसार स्थाइ कर्मचारीलाइ थाई गर्नुपर्यो,’ उनले भने ।

प्रतिष्ठानमा कार्यरत करार कर्मचारीलाई समयमा तलब व्यवस्था गर्नुपर्ने, उनीहरुलाई यथाशीघ्र स्थायी नियुक्ति पत्र दिनुपर्ने र स्थायी कर्मचारीको स्तर बृद्धि गर्नुपर्ने लगायतका माग सहित आन्दोलनमा उत्रिएको उनले सुनाए । यता, प्रतिष्ठानले भने कर्मचारी युनियनको माग पूरा गर्दै आइरहेको दाबी गरेको छ ।

प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाका अनुसार सहमति भए अनुसार नै माग पूरा हुँदै आएको छ । उनले भने, ‘प्रतिष्ठानको कार्यक्षेत्रभन्दा बाहिर मुद्धामात्रै प्रतिष्ठानले सम्बोधन गर्न नसकेको हो ।’ प्रतिष्ठान (तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले २०६४ सालमा त्यहाँ कार्यरत १ सय २६ जना कर्मचारीलाई स्थायी नियुक्ति गरेको थियो ।

उनीहरु लामो समय सेवामा तल्लिन हुँदा पनि स्तर बृद्धि नभएको र ३ महिनादेखि तलब पनि वितरण नहुँदा दैनिक जीवन यापनमा समस्या भएको पीडित पक्षको गुनासो छ ।