पर्वतमा बस दुर्घटना–मृतककाे संख्या ७ पुग्यो, गम्भीर घाईतेको पोखरामा उपचार हुँदै

पोखरा, माघ ३ ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार भएको मिनिबस दुर्घटनामा मृतकको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ३ जनाको दुर्घटनास्थलमा र बाँकी ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दी पाखापानीका राजेश पुन र विष्णुमाया पुन रहेका छन् । यस्तै, बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये एकजना पुरुषको सनाखत हुन नसकेको पर्वत प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन् ।

१७ जना गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरि पोखरा ल्याईएको छ । घाइतेहरुको पहिचान खुलिसकेको छैन । बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ३९ जना यात्रु भएको प्रहरीको अनुमान छ । पर्वतका ट्राफिक प्रहरी इन्चार्ज रामकृष्ण गौलीका अनुसार सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ ।

घाइतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा र काठमाण्डौंका अस्पतालमा रिफर गरिएको छ । बस तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।