पर्वतमा पहिरो खस्दा १ जनाको मृत्यु, ३ गम्भीर

पर्वत, साउन २ ।
बर्षासँगै झरेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । जलजला गाउँपालिका ८ स्थित लस्ती बेरनेतामा पहिरो खस्दा विकास परियारको मृत्यु भएको हो ।

१ तले कच्ची घरले पुरेर उनको मृत्यु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पहिरोले गाउँका १६ घर जोखिममा परेका छन् । जोखिममा परेका घर सदस्यलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ ।

उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी मिलनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।