पर्यटन महोत्सवमा खेल आकर्षण

पोखरा, पुस ११ ।
पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण अन्तर्ग मंगलबारदेखि प्रतियोगितात्मक खेलकूदसहित विविध साँस्कृतिक कार्यक्रम आरम्भ भएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले रेफ्री मिकास गुरुङलाई बास्केटबल हस्तान्तरण गरी खेलकूद कार्यक्रमको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा रोधी क्लब घान्द्रक ए लाई ३३ स्कोरका विरुद्ध हिमशिखर युवा क्लबले ३८ स्कोरको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । उक्त प्रतियोगितामा हिमशिखर युवा क्लब जर्सी नं. ९ का अनिल पुनले सबैभन्दा धेरै १६ स्कोर हासिल गरे ।
त्यसैगरी सेन्चुरी युवा क्लब छोम्रोङ बी लाई २५ अंकका विरुद्ध बिशाल मिलन केन्द्र (बीएमके) काठमाडौंले ३१ स्कोरको फराकिलो अन्तरले पराजित गर्यो । नकआउट प्रणालीमा खेलाइएको बास्केटबल प्रतियोगितामा ८ समूहको सहभागिता रहेको छ ।
त्यसैगरी पुरुष भलिबल प्रतियोगितामा १६ टिम र महिला भलिबल प्रतियोगितामा ९ टिमको सहभागिता रहेको आयोजक समितिले जानकारी दिएको छ । आजै चण्डी युवा क्लब सावेत र सेन्चुरी युवा क्लबबीच भएको मैत्रीपूर्ण भलिबल खेलमा चण्डी युवा क्लब विजयी भएको थियो । प्रतियोगितात्मक खेलकूद कार्यक्रमहरु जारी रहेका छन् । त्यसैगरी वरिष्ठ कलाकारहरुको सहभागितामा कला कार्यशाला जारी रहेको छ । कला कार्यशालामा कोरिएका पानी रङ र तेल रङका चित्रहरु बिक्रीका लागि प्रदर्शनीमा राखिएको छ ।