पर्यटनमन्त्री अधिकारी भन्छन्–एकबर्षभित्रै गौतमबुद्ध एयरपोर्ट सञ्चालनमा आउँछ

काठमाण्डौं, चैत १२ ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको बताए । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर चौबीसै घन्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको उनले जानकारी दिए ।
मन्त्रालयले आगामी ५ दिनभित्र दीर्घकालीन र अल्पकालीन दृष्टिकोण तयार गरी १०० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको तथा आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री अधिकारीले बताए । त्यस्तै, ५ वर्षभित्र ८० प्रतिशत भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण सम्पन्न गर्ने, १०÷१० वर्षमा मन्त्रालयगत नीतिगत निर्णय पुनरवलोकन गर्ने उनको भनाइ छ । मन्त्री अधिकारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न पूरै देश अभियानका साथ लाग्ने जानकारी दिँदै भैरहवा विमानस्थल र पोखरा विमानस्थललाई अघि बढाउने स्पष्ट पारे ।