पर्यटनमन्त्री अधिकारीलाई बर्खास्त गर्न कृष्ण पहाडीको माग

बुटवल, माघ २६ ।
मानव अधिकारकर्मी कृष्ण पहाडीले संसदलाई ढांटेको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहाडीले अधिकारीलाई एक मिनेटपनि मन्त्री पदमा राख्न नहुने बताए ।

संसदको सर्वोच्चता भएको मुलुकमा संसद्लाई नै झुट बोल्ने कुरा स्वीकार्य नहुने भन्दै उनले भने, ‘वाइडबडी काण्डमा रविन्द्र अधिकारीले संसदमा जे बोले, त्यो झुट सावित भएको छ । संसद्लाई झुट कुरा बताउने व्यक्ति पदमा रहिरहन पाउँदैन, त्यसैले म बुटवलबाटै भन्छु प्रधानमन्त्री केपी ओली ज्यू, रविन्द्रजीलाई तपाइको क्याबिनेटबाट बाहिर निकाल्नुस् ।’

प्रधानमन्त्रीले आफूहरुको माग नसुने प्रजातान्त्रिक परम्परा र संसदीय सर्वोच्चताबारे हरेक निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने उनले बताए । ‘त्यति गर्दा पनि सुन्नुभएन भने आउदो चुनावमा प्रत्येक निर्वाचन क्षेत्रमा यही मुद्दा उठाउँछौं’ पहाडीले भने ।

उनले सत्ताको उन्मादबाट कसैको कुरा नसुनेर अवमूल्यन नगर्न प्रधानमन्त्रीलाइ आग्रह गरे । ‘भ्रष्टाचारको विषयमा अन्तरराष्ट्रिय रुपमै दबाव आयो भने हामीलाई गाली गर्न पाउनुहुन्न । बल सरकारको कोर्टमा छ, उनले भनेका छन् ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति समेत रहेका पहाडीले दलहरुले देशलाई द्वन्द्वमा फसाउने कोशिष गरिरहेको आरोप समेत लगाएका छन् ।