परमाणु कार्यक्रमबारे ईरानले झुट बोल्दै आएको इजरायली प्रधानमन्त्रीको दावी

पोखरा, वैशाख १८ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘परमाणु हतियार बनाउने प्रयास नगरेको’ ईरानको दाबी झुटो भएको बताएका छन् । इजरायलले प्राप्त गरेका हजारौं गोप्य दस्तावेजअनुसार ईरानले पूरै विश्वलाई ढाँटेको नेतन्याहुको आरोप छ । उक्त दस्तावेजलाई ‘गोप्य परमाणु फाइल’ नाम दिँदै नेतन्याहुले विश्वलाई ढाँटेर ईरानले परमाणु हतियार बनाउने कोशिस गरिरहेको बताए । तेल अवीबस्थित रक्षा मन्त्रालयमा बोल्दै उनले ईरानले १० किलोटन परमाणु विष्फोट प्रयोग गर्न सकिने पाँचवटा मिसाइलका लागि काम गरिरहेको जिकिर गरे । नेतन्याहुले उक्त फाइल अमेरिका र अन्तर्रा्ष्ट्रिय उर्जा एजेन्सीलाई पनि उपलब्ध गराउने बताए ।

ईरानका विदेशमन्त्री जावेद जरीफले भने नेतन्याहुको आरोप अस्वीकार गरेका छन् । ईरानको परमाणु कार्यक्रमलाई लिएर विश्व शक्ति राष्ट्र र ईरानबीच सन् २०१५ सम्झौता भएको थियो । सम्झौता अनुसार ईरानले आफ्नो परमाणु कार्यक्रम बन्द गर्ने र यसको बदलामा उसमाथिको प्रतिबन्ध हटाउने व्यवस्था गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ईरानसँगको परमाणु सम्झौतालाई खराब सम्झौता भन्दै रद्द गर्ने चेतावनी दिइरहेका छन् । यूरोपेली मुलुकले भने ईरानसँगको परमाणु सम्झौता कायमै राख्नु पर्ने बताएका छन् । ईरानले परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको जिकिर गर्दै आएको छ । (एजेन्सी)