पदभारमा प्रधानमन्त्री ओलीका ५ निर्णय

काठमाण्डौं, फागुन ३ ।
नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णय सार्वजनिक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँझ ८ बजे पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान अन्तर्गत सार्वजनिक गरेका ५ निर्णय यस्ता छन्
१. संविधान कार्यान्वयन गर्ने-पहिलो बुँदामा राज्यको पुनर्संरचना अन्तर्गत तीनै तहका सरकारलाई जनमुखी, सबल र प्रभावकारी बनाउने निर्णय गरिएको छ । त्यस्तै, राज्यका तीन वटै तहमा कानुनी व्यवस्था, प्रशासनिक संरचना र जनशक्तिको व्यवस्थापन गर्ने निर्णय प्रधानमन्त्री ओलीले गरेका छन् ।
२. आर्थिक समृद्धिका लागि कृषिको आधुनिकरण र व्यवसायीकरण-दोस्रो बुँदामा प्रधामन्त्री ओलीले उद्योगहरुको संरक्षण, स्थापना र विकासलाई समावेश गरेका छन् । विकासका पूर्वाधारहरु यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता जनसरोकारका विषय र विकासलाई जनताले प्रत्याभूति गर्नेगरी अघि बढाउने निर्णय गरिएको छ । पर्यटन तथा सेवा क्षेत्रको विकास गर्ने र आन्तरिक तथा बाह्य लगानी बृहत् रुपमा वृद्धि गर्ने लक्ष्य नयाँ सरकारले लिएको छ । देशको उत्पादकत्व वृद्धि गर्ने, बृहत् पूर्वाधार विकासमा जोड दिने, उद्योग र आर्थिक क्रियाकलापको विस्तारका लागि लगानीमैत्री वातावरणको विकास गर्ने र अर्थतन्त्रका सबै क्षेत्रलाई गतिशील बनाई राष्ट्रिय पुँजी विकासलाई प्राथमिकता दिने सरकारको लक्ष्य छ ।
३. आम रुपमा रोजगारीका अवसर सिर्जना गर्ने-नयाँ सरकारले मुलुकमा देखिएको चरम बेरोजगारी समस्यालाई सम्बोधन गर्ने कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । आम रुपमा रोजगारीका अवसर सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ अघि बढाउने सरकारको संकल्प छ ।
४. सामाजिक न्याय र समानताको कार्यान्वयन गर्ने-चौथो बुँदामा संविधानमा रहेको सामाजिक न्याय, समानतालाई व्यावहारिक रुपमा जनताले अनुभूति गर्नेगरी काम गर्ने सरकारको निर्णय छ ।
५. शासकीय सुधार र भ्रष्टाचार नियन्त्रण गर्ने-प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने निर्णय गरेका छन् । भ्रष्टाचार नियन्त्रण कडाइका साथ उत्रने प्रधानमन्त्री ओलीले उद्घोष गरे । नयाँ सरकारले प्रमुख राष्ट्रिय कार्यसूचीमा उल्लेख्य सफलता प्राप्त गर्न राज्यका सम्पूर्ण स्रोत, साधन, सार्मथ्य र संयन्त्रलाई अभियानको रुपमा परिचालन गर्ने समेत निर्णय गरेको छ । यस्तै, देशका प्रचुर सम्भावनालाई साकार बनाउन नीतिगत ढंगले सम्बोधन गर्ने निर्णय समेत प्रधानमन्त्री ओलीले गरेका छन् ।