पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ सम्मानित, पुरस्कार बृद्धाश्रमलाई

पोखरा, भदौ २६ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुलीले आफ्ना बाबुआमाको नाममा स्थापना गरेको ऋषि(लिला पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन् ।

सम्मानित श्रेष्ठ पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । उनी १८ वर्षदेखी पत्रकारितामा क्रियाशील छन् । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान र्पुयाएको भन्दै श्रेष्ठलाई पोखरा वृद्धाश्रमको २१ औं वाषिर्क साधारण सभामा सोमबार सम्मान गरिएको हो । प्रदेश सांसद मीना गुरुङले उनलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिन् ।

पुरस्कारको राशी नगद २० हजार रहेको छ । सम्मानित श्रेष्ठले आफूले पाएको पुरस्कारको रकम सब २० हजार पोखरा वृद्धाश्रममा आश्रति ज्येष्ठ नागरिकको लागि प्रदान गरे । उनले बृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारीलाई रकम हस्तान्तरण गरेका हुन् । यसअघि यस पुरस्कारबाट गत वर्ष चट्टयाङ मास्टर सम्मानित भएका थिए ।