पत्रकार पनेरु र पगेनी सम्मानित

पोखरा, कार्तिक १९ ।
तुलसीप्रसाद–टंकादेवी कोइराला स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार माधव पनेरुलाई अर्पण गरिएको छ । नेपाल पत्रकार महासंघमा भएको विशेष कार्यक्रमका बीच राष्ट्रपतिका प्रेस सल्लाहकार तथा प्रेस स्वतन्त्रताका सेनानी माधव शर्माले सम्मान गरे । सोही अवसरमा मिना गुरुङ सृजनशिल पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार सरिता तिमिल्सीना पगेनी सम्मानित भईन् । पनेरुलाई २० हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरियो भने पगेनीलाई ११ हजार १ सय ११ नगदसहित दोसल्ला र सम्मानपत्र अर्पण गरियो ।
टंकादेवी पुरस्कारका लागि वरिष्ठ पत्रकार कुशुमकेशव पराजुलीको संयोजकत्वमा र मिना पत्रकारिता पुरस्कारका लागि पत्रकार राजबहादुर गुरुङको संयोजकत्वमा छनौट समिति गठन भएको थियो । समितिकै सिफारिसका आधारमा पत्रकार महासंघ कास्कीले सम्मान गरेको हो ।
सम्मानपछि बोल्दै राष्ट्रपतिका प्रेस सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले पत्रकार महासंघमा पोखराका पत्रकारहरुको ठूलो देन रहेको बताए । उनले सबै पत्रकारको आत्मियताले महासंघ पारिवारिक भएको भन्दै त्यसलाई जोगाईराख्न आग्रह गरे । सम्मानित व्यक्तित्व माधव पनेरुले जीवमा लक्ष्य लिएर अगाडी बढेमा सफल हुन सक्ने बताए । अर्का सम्मानित व्यक्तित्व पगेनीले पोखराका सञ्चारगृहहरु महिलामैत्री हुनुपर्ने बताईन् ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पुरस्कारदाता सुवर्ण कोइराला र मिना गुरुङ, नागरिक समाजका संयोजक रामबहादरर पौडेल, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद वास्तोला लगायतले बोलेका थिए ।
करिब डेढ दशकअघि पत्रकारिता थालेका पनेरु हाल विग एफएममा समाचार प्रमुख र पोखरा आवाज पत्रिकामा कार्यरत छन् भने पगेनी चाहीँ रेडियो अन्नपूर्ण र हिमदुत राष्ट्रिय दैनिकमा कार्यरत छिन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष त्रिभुवन पौडेल, धन्यवाद ज्ञापन महिला उपाध्यक्ष विमला भण्डारी र सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।