पत्रकार अधिकारीमाथी हातपात, महासंघद्धारा विरोध

पोखरा, असोज २९ ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका पोखरा १५ मजुवामा बस्दै आएका बाढीपहिरो पीडितले आईतबार दिउँसो नाराबाजी सहित धर्ना दिए । ४० वर्ष अघिदेखि पोखराको सार्वजनिक जग्गामा बस्दै आएका उनीहरुलाई प्रशासनले डोजर लगाएर हटाएपछि भिड आक्रोशित बनेको थियो ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका बाढीपहिरो पीडितको भिडमा पोखरा २८ का विकास गुरुङले पत्रकार सुरेशराज अधिकारीमाथी हातपात गरेका हुन् । पीडितहरु प्रशासनको सहयोगमा विगत ४० बर्षदेखि मजुवाको सार्वजनिक जग्गामा बस्दै आएका थिए ।
पत्रकार अधिकारीले समाधान दैनिक पत्रिकामा शनिवार लेखेको समाचारमाथी आपत्ति जनाउँदै गुरुङले हातपात गरेका प्रत्यक्षदर्शी पत्रकारहरुले बताएका छन् ।
पोखरा १५मा निर्वाचित जनप्रतिनिधीले सूचना जारी गरेर अवैध रुपमा घरटहरा बनाएर बसेको भन्दै पीडितहरुको घर भत्काएका थिए । त्यसपछि आक्रोशित बनेका पीडितहरु महानगरमा नाराबाजी सहित उपस्थित भएका हुन् । पीडितलाई सुकुम्बासी भनेको भन्दै उनीमाथी कुटपिट भएको हो ।
वडा अध्यक्ष प्रकाश पौडेलले जारी गरेको विज्ञप्तीमै सुकुम्बासी भनिएको पत्रकार अधिकारीले स्पष्ट पारेका छन् ।
यसैबीच, पत्रकार अधिकारीमाथि भएको कुटपिटको नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकारमाथी भएको घटना निन्दनिय भएको भन्दै दोषीमाथी कारबाहीको माग गरिएको छ ।
समाधान टीम, कास्कीका क्रियाशील पत्रकार सहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहलाई नै भेटेर दोषीलाई तुरुन्त पक्रेर कारबाही गर्न आग्रह गरेको छ । एसपी सिंहले पक्रेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार अधिकारीले आफूमाथि कुटपिट गर्ने विकास विरुद्धकिटानी जाहेरी दिएका छन् ।