पत्रकारलाई जीवन निर्वाह भत्ता दिने सरकारको निर्णय, प्रेस काउन्सिल खारेजीको तयारी

काठमाण्डौं, साउन १ ।
सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

जेष्ठ पत्रकार वृत्ति कोषमा तत्काल एक करोड रुपैयाँ निकासा गरिएको उनले बताए । आगामी आर्थिक वर्षमा यो रकम बढाएर तीन करोड रुपैयाँ पु¥याइने मन्त्री बास्कोटाको भनाई छ । अक्षयकोषको ब्याजबाट मापदण्डभित्र परेका जेष्ठ पत्रकारलाई मासिक बृत्ति प्रदान गरिनेछ ।

जीवनभर पत्रकारितामा संलग्न रहेका र अवकाशको उमेरममा अन्य आयस्रोत नहुने जेष्ठ पत्रकारको सहयोगका लाग बृत्ति कोष सहयोगी हुने बास्कोटाले बताए । सरकारले छुट्याएको पहिलो चरणको एक करोड रुपैयाँको वार्षिक व्याज कम्तिमा १० लाख रुपैयाँ हुन्छ । यो रकम तीन करोड पुग्दा व्याज वापत ३० लाख रुपैयाँभन्दा माथि हुन्छ ।

यसैबीच, सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । प्रेस काउन्सिल खारेज गरेर त्यसको ठाउँमा अधिकार सम्पन्न मिडिया काउन्सिल ऐन ल्याउन लागिएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।