पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु , अस्पताल तनावग्रस्त

काठमाण्डौं, जेठ ३१ ।
राजधानीको एक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक जना विरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर मृत्यु भएको हो ।

गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अपरेशनपछि निको हुनुको साटो झन् च्यापेपछि चेकअप गर्दा आन्द्रामा प्वाल परेको भेटिएको थियो । उपचारकै क्रममा बिहीबार अस्पतालले मृत घोषणा गरेको मृतकका आफन्तहरुले जनाएका छन् ।

५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् । उनको अपरेशन डा. रविन कोइरालाको नेतृत्वको डाक्टरको टोलीले गरेको थियो । रामप्यारीलाई मृत घोषणा गरिएपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । अस्पतालको चरम लापरवाहीले रामप्यारीको मृत्यु भएको भन्दै आफन्तले चिकित्सकमाथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।