पटाका आयात, बेचविखन र पड्काउने कार्य रोक्न नागरिक समाज पोखराको ध्यानाकर्षणपत्र
पोखरा, कार्तिक १ ।
आउँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड दीपावलीको सन्दर्भ पारेर पोखरामा पटाका आयात हुने, बेचविखन र पड्काउने कार्यलाई रोक्नको लागि विगतका वर्षहरु झैं नागरिक समाज पोखराले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
साथै आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यम प्रसाद पोखरेललाई भेटी हालै प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुमा माला, खादा र ब्याचको प्रयोग र कार्यक्रममा समय सीमा सम्बन्धी गरेको निर्णयको समाजको स्वागत गरेको छ । त्यस्तै पोखराको वातावरण प्रदूषण हुने गरी अत्याधिक धुँवा फाल्ने सवारी साधनलाई व्यवस्थापन गर्न र सडक पेटीमा रोपिएका रुख विरुवाहरुको फेदमा खाली ठाउँ नराखी फेदमै टाँसिने गरी विछ्याइएका ढुङ्गा र ढलानहरु हटाउन पनि नागरिक समाज पोखराले अनुरोध गरेको छ ।
उक्त अवसरमा नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेल, संयोजक विष्णुहरि अधिकारी, सहसंयोजक इन्द्रकमल मानन्धर, प्रवक्ता ठाकुर प्रसाद बराल, सदस्यहरु कल्याण पन्त, सूर्यनाथ पहारी, विन्ध्येश्वरी बराल, शिवप्रसाद बास्तोलाको सहभागिता रहेको थियो ।