न्वारन गरेकै रात फिल्मी शैलिमा हरायो ११ दिने बच्चा

पोखरा, भदौ ८ ।
गोरखामा न्वारन गरेकै राती एक वालिका बेपत्ता भएकी छन् । गोरखाको सिरान्चो गाउँपालिका २ खमारीमा बिहीबार न्वारन गरेका सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी हराएकी हुन् ।

‘राती अचम्मको घटना घटेछ’ वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने ‘राती एक बजे आमा ट्वाइलेट गएको थियो रे । बच्चा हजुरआमासँग सुतेको थियो भन्छ । आमा ट्वाईलेटबाट फर्कँदा बच्चा रहेनछ ।’

ओच्छ्यानमा बच्चा नदेखेपछि रश्मीका परिवारले गाउँलेलाई खबर गरेका थिए । अहिले खमारीमा प्रहरीको टोली पनि पुगिसकेकोे छ ।

गत हप्ताको शनिबार पनि सोही गाउँबाट विष्णु बरामको २ वर्षको छोरा सन्देश हराएको र पछि फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बीमल बस्नेतले जानकारी दिए । एक हप्ताको बीचमा दुई वटा वच्चा हराएपनि गाउँलेहरु त्रसित भएको वडा अध्यक्ष गुरुङले बताए ।