नेविसंघ नेताको मृत्यु–सात बुँदे सहमतिपछि हट्यो अवरोध (सहमति सहित)

पोखरा, माघ २४ ।
सोमबार साँझ नगरबसले किचेर नेविसंघ स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकालको बिषयलाई लिएर भएको आन्दोलन निष्कर्षमा पुगेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा त्रिपक्षीय छलफल पछि ७ बुँदे सहमति भएको छ । सहमतिमा चालकलाई कडा कारबाही गर्ने र मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउने बिषय उल्लेख छ । चालककै लापरबाहीले दुर्घटना भएको भन्दै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने, मृतकका परिवारलाई उचित राहात उपलब्ध गराउने, विद्यार्थीलाई सन्ध्याकालीन समयमा पनि छुटको ब्यवस्था गर्ने सहमति भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । यसअघि साँझ परेपछि विद्यार्थीले कार्ड छुट पाएका थिएनन् ।
छुट नपाए उजुरी गर्ने निकायको सम्पर्क नम्बर सहितको बोर्ड हरेक नगरबसले झुण्ड्याउनुपर्ने नियम समेत बनाईएको छ । यस्तै पिएन क्याम्पसको गेटअगाडी हुने पार्किङ तत्काल हटाउने, आन्दोलनका सबै घाईतेलाई उपचार गराउने सहमति पनि जुटेको छ । सहमतिपत्रमा जिल्ला प्रहरी कार्यालय, संयुक्त विद्यार्थी आन्दोलन समिति र बस ब्यवसायी समितिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सहमति पछि आजै मृतकका परिवारले शव बुझ्ने र आजै दाहसंस्कार हुने परिवार श्रोतले बताएको छ । दिउँसो १ बजे गण्डकी अस्पतालबाट शवयात्रा निकालेर रामघाटमा अन्त्यष्टी हुने र अन्त्यष्टीमा नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पार्टीको झण्डा ओढाउने छन् ।
सहमति पछि पोखराको नगर बस समेत निर्वाध रुपमा चल्न थालेका छन् । उचित क्षतिपुर्ति र दोषीमाथी कारबाहीको माग गर्दै मंगलबार विद्यार्थीहरुको प्रदर्शनले बगर क्षेत्र तनावग्रस्त भएको थियो । त्यसपछि संयुक्त विद्यार्थी संगठनले विज्ञप्ती जारी गरी घटनाबारे थप छानवीनको माग दवाव गर्दै आजदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए ।