नेविसंघ केन्द्रिय सदस्य ढकाल सहित ४ जना पोखराबाट पक्राउ

पोखरा, माघ २२ ।
आफ्नो संगठनका विद्यार्थीहरु रिहाईको माग सहित आन्दोलनरत नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल सहित ४ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो पार्टी कार्यालय चिप्लेढुंगामा उनीहरुले सडक बन्द गरेर केहीबेर प्रदर्शन गरे । त्यसपछि मुख्यमन्त्री कार्यालय र जिल्ला अदालतको दुईवटा गाडी नियन्त्रणमा लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ढकालसँगै नेविसंघ नेताहरु गोविन्द नेपाली, विधान लामिछाने र सागर सापकोटा छन् । उनीहरुलाई बैदाम प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरको गाडी जलाईएको थियो । गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल छुटिसकेका छन् । परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल अहिले पनि प्रहरी हिरासतमा छन् । उनीहरुको रिहाईका लागि काँग्रेस कास्कीले पनि चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

सार्वजनिक शान्ति विरुद्ध काम गरेकोले पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए । ‘सरकारी गाडीको चावी लगेको बुझियो । नियन्त्रणमा लिएर खोज्दा चावी भेटियो । त्यसैले नियन्त्रणमा लिएका हौं–उनले भने ।’