नेपाल वेष्ट इन्डिजसँग पराजीत

पोखरा, असार ७ ।
नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनको फराकीलो अन्तरले पराजीत भएको छ । चार पटकको विश्व विजेता वेष्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २ सय ३८ रनमै अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए । गुलशन झा ४२, करण केसी २८, कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भए । कुशल मल्ल लामो सर्ट खेल्ने क्रममा २ रनमै पेभेलिएन फर्किए । नेपालका ब्याटर वेस्ट इन्डिजका बलरसामु क्रिजमा टिक्न सकेनन् ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले १ सय ३२ रनको कप्तानी इनिङ खेले । निकोलस पुरनले १ सय १५ रनको योगदान दिए ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिका समूह ए बाट लगातार तीन हारको साथ बाहिरिएको छ । नेपाल सुपर सिक्समा पुग्न शनिबार नेदरल्यान्ड्सलाई हराउनै पर्ने हुन्छ । नेपालले हराए मात्रै हुँदैन नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ । नेपाल नेदरल्यान्ड्ससँग पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।