नेपाल एयरलाइन्सको दिल्ली जाने भाडा सबैभन्दा सस्तो

काठमाण्डौं, बैशाख १७ ।
नेपाल वायुसेवा निगमले भारतको नयाँदिल्लीमा बुधबारदेखि दैनिक २ उडान गर्ने भएको छ । अन्तराष्ट्रिय उडानमा भारतको नयाँदिल्लीमा सातामा ११ उडान गर्दै आएको निगमले भोलिदेखि दैनिक दुई उडान अर्थात् सातामा १४ उडान गर्नेछ ।

नयाँदिल्लीबाट काठमाडौंका लागि दैनिक २ उडान गर्दै आएको भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको काठमाडौं उडान बन्द भएपछि निगमले दैनिक २ उडान थप गर्ने तयारी गरको थियोे । दैनिक २ उडान गर्न निगमलाई नागरिक उड्डयन प्राधिकरण (क्यान) ले १९ दिनअघि नै अनुमति दिएको थियो ।

निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार काठमाडौंवाट नयाँदिल्लीको लागि पहिलो उडान बिहान ८ बजे हुनेछ । काठमाडौबाट करिब १ घण्टा ४० मिनेट अर्थात् बिहानको ९ः४० मा नयाँदिल्लीमा अवतरण हुनेछ । त्यस्तै दिउँसोको उडान १ बजे हुन्छ भने नयाँदिल्लीमा अवतरण २ः२५ को हुनेछ। नयाँदिल्लीबाट बिहानको १०ः४० मा पहिलो उडान हुनेछ भने दोस्रो उडान ३ः५५ हुने कोइरालाले जानकारी दिए ।

उनका अनुसार नयाँ दिल्ली उडानका लागि ८ हजारदेखि २८ हजार रुपैयाँ एकतर्फी भाडा रहेको छ । दुवैतर्फी भाडा १५ हजारदेखि ४० हजारसम्मको रहेको छ । सबैभन्दा धेरै सिट सस्तो दरका रहेको निगमले जनाएको छ । सातामा ३ उडान गर्दै आएको इन्डिगो एयरको उडान भाडा ३३ हजारभन्दा बढी रहेको छ ।