नेपालीसँग ४० अर्बको नक्कली सिक्का

काठमाण्डौं, असोज १ ।
नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ ।
‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो ।