नेपालमा ४ कोरोना संक्रमित थपिए, हालसम्म ५८ पुग्यो
वीरगञ्ज, बैशाख १७ ।
वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।
यसअघि आइतबार वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।
बुधबार विहान पनि वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।
तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।