नेपालमा ४८ संक्रमित, १० जनाले जिते कोरोना

पोखरा, बैशाख १२ ।
बिहीबार उदयपुर र जनकपुरका २ व्यक्तिमा कोरोना संक्रमण प्रमाणित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको पछिल्लो अपडेटबारे जानकारी दिँदै प्रवक्ता डा. विकास देवकोटाले थप दुईलाई कोरोना पुष्टि भएको जानकारी गराए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षण क्रममा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षका एक युवामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

साँझ भोजपुरमा अर्का एक ब्यक्तिमा पनि कोरोना पुष्टी भयो । २६ बर्षिया पुरुषमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यति बेला नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यसमा उदयपुरमा मात्र २७ जना छन् । अहिलेसम्म निको भएर अस्पतालबाट घर फर्कनेको संख्या पनि बढ्दै छ । बिहीबारसम्म १० जना उपचारपछि निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ४३ हजार २ सय ७७ जनामा कोरोना परीक्षण भइसकेको छ । जसमा क्वारेन्टाइनमा १० हजार ५ सय ७३ जना र आइसोलेसनमा ८६ जना रहेका छन् ।