नेपालमा कुन मन्त्रीको कति तलव ? (खर्च विवरण सहित)

काठमाण्डौं, भदौ २८ ।
नेपालमा एक जना मन्त्रीको मासिक खर्च झण्डै पाँच लाख छ । तोकिएको सुविधामा एक जना मन्त्रीले तलबमा ६० हजार, सचिवालयका ७ कर्मचारीलाई १ लाख ५७ हजार, मासिक घर भाडा ४० हजार, बिजुली पानी टेलिफोन १५ हजार, इन्धन मासिक २ सय ७ लिटर पेट्रोल, दैनिक भ्रमण भत्ता उपत्यकाबाहिर जाँदा ५ हजार रुपैयाँ र एक पटक मात्रै फर्निचर र सुरक्षा बुथ निर्माणका लागि एकमुष्ट २ लाख रुपैयाँ पाउँछन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरुको संख्या बढ्दै जाँदा सरकारी ढुकुटीमा आर्थिक भार पनि थपिँदै गएको छ । हालसम्म मन्त्रिपरिषद् ५४ सदस्यीय पुगिसकेको छ । अझै ३ जना थपिने सम्भावना छ । सरकारमा हाल ३ उपप्रधानमन्त्री, २३ मन्त्री र २८ राज्यमन्त्री छन् । एक जना उपप्रधानमन्त्री थपिँदा सचिवालय समेतको खर्च जोड्दा तलबमा मासिक २ लाख ६२ हजार रुपैँया खर्च हुन्छ । यस्तै मन्त्रीको २ लाख १८ हजार मासिक खर्च छ । उता राज्यमन्त्रीको पोल्टामा महिनाकै २ लाख १५ हजार रुपैयाँ ब्ययभार पर्छ ।
यो आधारमा हेर्दा देउवा नेतृत्वका सबै मन्त्रीको मासिक तलब मात्र १ करोड २४ लाख भन्दा बढी छ । देउवा नेतृत्वको सरकारको अवधि अब कम्तिमा ३ महिनाको छ । यही संख्या कायम भए तीन महिनाभित्र तलबमा मात्रै ३७ करोड २६ लाख राज्यकोषबाट सुविधाका लागि मात्रै खर्च हुन्छ । सरकार परिवर्तन भएलगत्तै नयाँ मन्त्री बन्दा यी खर्चमा थप आर्थिक व्ययभार पनि थपिन्छ ।
प्रधानमन्त्रीले तलब बाहेक सञ्चार खर्च मासिक ५ हजार रुपैयाँ पाउँछन् । यस्तै अतिथि सत्कार स्वरुप मासिक १० हजार रुपैयाँ बुझ्छन् भने दैनिक भ्रमण भत्ता उपत्यका बाहिर जाँदा ३ हजार रुपैयाँ तोकिएको छ । प्रधानमन्त्रीलाई मासिक ३ सय ६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल उपलब्ध हुन्छ । यस्तै, उपप्रधानमन्त्रीहरुले राज्यकोषबाट सञ्चार खर्च बापत मासिक ३ हजार रुपैयाँ पाउँछन् । अतिथि सत्कार बापत मासिक ३५ सय रुपैयाँ प्राप्त गर्छन् भने भ्रमण भत्ता उपत्यका बाहिर जाँदा दैनिक ३ हजार रुपैयाँ पाउँछन् । उपप्रधानमन्त्रीहरुलाई राज्यले मासिक २ सय ३८ लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल उपलब्ध गराउँछ ।
मन्त्रीहरुले पनि सञ्चार खर्चबापत मासिक ३ हजार रुपैयाँ नै पाउँछन् । उनीहरुले अतिथि सत्कार बापत मासिक ३५ सय रुपैयाँ लिन्छन् भने भ्रमण भत्ता उपत्यका बाहिर जाँदा दैनिक ३ हजार बुझ्छन् । मन्त्रीलाई मासिक २ सय ७ लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल उपलब्ध हुन्छ । राज्यमन्त्रीले पनि सञ्चार खर्च बापत मासिक ३ हजार रुपैयाँ नै पाउँछन् । अतिथि सत्कार बापत मासिक ३ हजार रुपैयाँ प्राप्त गर्छन् । उनीहरुलाई पनि भ्रमण भत्ता उपत्यका बाहिर दैनिक ३ हजार रुपैयाँ उपलब्ध हुन्छ । राज्यमन्त्रीलाई मासिक १ सय ८० लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल उपलब्ध गराइन्छ ।
मन्त्रीसँगै उनीहरुको सचिवालयमा हुने खर्च पनि डरलाग्दो छ । प्रधानमन्त्रीको सचिवालय ४५ सदस्यीय हुन्छ । सचिवालयका कर्मचारीको तलबमा मात्रै मासिक १२ लाख ७१ हजार ४ सय ५० रुपैयाँ खर्च हुन्छ। यस्तै, उपप्रधानमन्त्रीको सचिवालय ८ सदस्यीय हुन्छ । सचिवालयमा काम गर्ने कर्मचारीको तलबमा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँ खर्च हुन्छ । मन्त्री र राज्यमन्त्रीको सचिवालयमा ७÷७ कर्मचारी हुन्छन् । सचिवालयमा कार्यरत कर्मचारीको तलबमा मासिक १ लाख ५७ हजार खर्च हुन्छ भने प्रधानमन्त्रीको सचिवालयका कर्मचारी उपत्यका बाहिरा जाँदा दैनिक भ्रमण भत्ता न्यूनतम ६६ हजार २ सय रुपैयाँ खर्च हुन्छ ।
उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको सचिवालयको दैनिक भ्रमण भत्तामा राज्यकोषबाट न्यूनतम १० हजार ४ सय खर्च हुन्छ । ७ दिनभन्दा बढीको भ्रमणमा भने सचिवालयका कर्मचारीले ५० प्रतिशत मात्रै भ्रमण भत्ता पाउँछन् ।