नेपालको ऐतिहासिक जीत, युएई १४ रनले पराजीत

पोखरा, माघ २० ।
यूएईलाई अन्तिम खेलमा १४ रनले पराजित गर्दै नेपालले पहिलो टि–२० शृंखला २(१ जितेको छ । नेपालले क्रिकेट इतिहासमा यो पहिलो टि(२० शृंखला जितेको हो । वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ९० रनमात्रै बनाउन सक्यो । यूएईका शाइमन अनवरले ३०, घुलम शब्बिरले २५ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । नेपालका लागि पारस खड्काले सर्वा्धिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन जोडे ।

विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोडे। ओपनर पवन सर्राफ शुन्यमै पवेलियन फर्किएका थिए भने दीपेन्द्रसिंह ऐरीले २ रनमात्रै जोड्न सके । गत शुक्रबार भएको शृंखलाको पहिलो खेल नेपाल २१ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले खेल ३ विकेटले जित्दै शृंखला बराबरी गरेको थियो ।

सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेपनि जित्न सकेको थिएन् । २०१४ मा नै नेपालले हङकङसँग श्रीलङ्कामा चारवटा टि–२० अन्तर्रा्ष्ट्रिय शृंखला खेलेको थियो । जसका सुरुवाती तीन खेल वर्षाको कारण रद्द भए भने अन्तिम खेलमा हङकङले नेपाललाई २ विकेटले पराजित गरेको थियो ।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृंखला खेलेको थियो । जुन शृंखला नेपालले ३–१ ले गुमाएको थियो । सुरुवाती तीन खेल नेदरल्याण्ड्सले जितेपछि अन्तिम खेल नेपालले ३ विकेटले जितेको थियो ।