नेपालको ईतिहासमै पहिलो फैसला, श्रेयाका हत्यारा कुसुमलाई जन्मकैदको सजाय

पोखरा, पुस ४ ।
गत असोज ९ गते पोखरा २२ पुम्दिभुम्दिकी श्रेया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो ।

पोखरा महानगरपालिका २२ का मीनबहादुर विकको जाहेरीको आधारमा २७ बर्षिय पौडेललाई जन्मकैदको फैसला सुनाईएको अदालतले जनाएको छ । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ईतिहासमै पहिलो फैसला हो । मुलुकी अपराध संहिता २०७४ ले ६ किसिमको अपराधलाई जिवित रहदासम्म कैदको व्यवस्था गरेको छ ।

जसमा बलत्कार पछिको हत्या पनि एक हो । मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी अब जीवनभर जेल बस्नुपर्ने भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा २४ घण्टा नपुग्दै पक्राउ परेका कुसुमले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका थिए ।

रक्सीमा मात्तिएर १० वर्षीय श्रीयामाथि बलात्कारको प्रयास गरेका उनले पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगि बलात्कार गर्न खोजेको स्वीकार गरेका थिए । बलात्कारको प्रयास गर्न खोज्दा श्रीयाले प्रतिकार गरेपछि कुसुमले घाँटी थिचेका थिए । त्यसपछि बेहोस भएको थाहा भए लगत्तै उनले ढुंगाले टाउकोमा हानेर उनको हत्या गरेका थिए । उनले त्यसपछि उनको शव बरालहरुको कुल मन्दिरको पुर्वतर्फ जंगलमा फालेका थिए ।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए । त्यस्तै उनको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । दोषीउपर कडा सजायको माग गर्दै श्रीयाका आफन्तले एकसातासम्म आन्दोलन गरेका थिए । हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका थिए ।–अनुप पौडेलले बिगखवरमा लेखेका छन् ।