नेपालकै नमुना वडा–जहाँ सेवाग्राहीले हुलाक टिकटदेखि चियासम्म निशुल्क पाउँछन्

पोखरा, भदौ ६ ।
सरकारले यसअघि नै निशुल्क भनेर तोकेका शीर्षकहरुलाई निशुल्क भन्दै लेटरप्याडमा छापेर सार्वजनिक गरेका वडाध्यक्षहरुलाई गोरखाले गतिलो जवाफ दिएको छ । जहाँ सरकारले निशुल्क भनेका कुनै पनि शीर्षकमा कर र शुल्क लाग्दैन भने केही नयाँ प्रयोग पनि गरिएको छ । शहीद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले सेवाग्राही आँफैले किन्नुपर्ने हुलाक टिकट र फोटोकपी समेत निशुल्क गरिदिएका छन् । सँगै उनले कार्यालयमा आएका सेवाग्राहीलाई निशुल्क रुपमा चिया पिउन दिन्छन् । खाजा खाने समयमा र अरु बेला पनि सेवाग्राहीले चाहे चिया पिउन पाउँछन् । ‘करको हाउगुजी नेपालभरी चलेको छ । शहीद लखनले यो बर्ष कुनैपनि शीर्षकमा कर बढाएको छैन, अध्यक्ष श्रेष्ठले भने–निशुल्क भनिएको भन्दा बाहेक पनि हामीले केही कामहरु निशुल्क गरिदिएका छौं । हाउगुजी भएकोले जानकारीका लागि मात्रै निशुल्क हुने सेवाहरु सार्वजनिजक गरेको हुँ ।’ यसअघि नै वडा नम्बर ७ नमूना वडाको रुपमा स्थापित भैसकेको छ ।

‘कार्यालयमा सिसी क्यामेरा राखेर सबै कर्मचारीको काम निरीक्षण गर्छु, सेवाग्राहीलाई पनि यसबाट हेर्न मिल्छ । हरेक कोठामा इन्टरकम छ, सबैसँग एउटै कोठाबाट कुरा गर्न मिल्छ, उनले थपे–अरु वडामा नगरेका केही नमुना कामहरु थालनी गरेको छु । कार्यालयमा ब्यवस्थित खानेपानी छ । सेवाग्राहीले टिभी हेर्न पाउँछन् । कार्यालय छिर्दा एउटा छुट्टै वातावरण पाउनुहुनेछ ।’सरकारले निशुल्क भनेका सेवा बाहेकका सेवा चाहीँ सहयोगी खोजेर निशुल्क बनाएको उनी बताउँछन् । ‘हुलाक टिकट पनि मेरा साथीहरुले सहयोग गरिदिनुभएको हो । वाईफाई पनि छ, उनले भने–फोटो कपी मेसिन र स्टेशनरी समेत सहयोग पाएको छु । मेरो कामले जनतालाई होलो भएको छ ।’