नेतृत्वको कमजोरीले काँग्रेस हार्यो–प्रकाशमान सिंह

काठमाण्डौं, मंसिर २७ ।
काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले दलको इतिहास, कार्य सम्पादन, उम्मेदवारको पृष्ठभूमि हेरेर मलाई जिताए भन्ने लागेको छ। यसअघि दुई वटा संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट मैले नै अवसर पाएको थिएँ । अहिलेको नयाँ संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भयो र त्यसलाई संस्थागत गर्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । यसअघि काठमाडौं १ बाट निर्वा्चित भएर गएपछि प्राप्त गरेको जिम्मेवारी पूरा गरें भन्ने लाग्छ । संविधानसभाको निर्वाचन जित्दा संविधान लेखन र जारी गर्ने जुन दायित्व थियो, त्यो कांग्रेसकै नेतृत्वमा पूरा भयो । वामपन्थी दलको तर्फबाट ४ पटक कम्युनिस्ट नेताहरू प्रधानमन्त्री बन्नुभयो तर उहाँहरूले संविधान लागू गर्न सक्नु भएन। तर, हाम्रो नेतृत्वमा दोस्रो पटक बनेको संविधानसभाले संविधान जारी गर्यो । काठमाडौं क्षेत्र नम्बर १ को विकास, सामाजिक कार्यमा म सधैं मतदातासँग नियमित सम्पर्क र सम्बन्धमा रहें। त्यही कारणले पनि यहाँका मतदातले मलाई जिताएर पठाए भन्ने लाग्छ ।
निर्वाचनका क्रममा यो क्षेत्रबाट उठेका उम्मेदवारबीच जुहारी पनि भयो। तर, त्यो हाम्रो पक्षबाट भएको थिएन । तर, यहाँ तिललाई पहाड बनाउने काम भयो । पत्र–पत्रिकाले पत्रकारिताको जगतबाट आएको मान्छेलाई भातृत्वको हिसाबमा सहयोग गनुपर्छ भनेर ‘हिरोफाइ’ र ‘ग्लोरिफाइ’ गर्न खोजियो । ‘ग्राउन्ड’मा भन्दा अखबारबाजी र सोसियल मिडियामा प्रचारबाजी बढी भयो। आखिर ‘ग्राउन्ड’मा के रहेछ ? नतिजाले देखायो । पत्रपत्रिका, छापा, टेलिभिजन, अनलाइन, सोसियल मिडियाका अनुसार त प्रकाशमान र कांग्रेस धेरै पछाडि जस्तो गरेर रिपोर्टिङ गरियो। आखिर चुनाव त भोटरहरुले दिने हो । त्यो देखियो पनि । देशव्यापी रुपमा कांग्रेसको खराब नतिजाले नेतृत्वको कमजोरी देखिएको छ । कांग्रेसको १३आंै महाधिवेशनपछि पार्टीले जुन गति लिनुपथ्र्यो, त्यो भएन । महाधिवेशनपछि पार्टीको नेतृत्वमा आएका पदाधिकारीले जसरी कांग्रेसलाई चलाउनुपर्ने हो, त्यो देखिएन । संगठनको संरचना पूर्ति गर्दै संस्थागत विकास गरेर पार्टी अघि बढाउनुपर्ने थियो, त्यो पनि भएन ।
पार्टीको नेतृत्व कमजोर भएको नतिजाले देखाइसकेको छ। राम्रो हुँदा जस चाहिँ नेताले लिने, नराम्रो हुँदा अपजस पनि नेताले नै लिनुपर्छ । हाम्रोतिर फाइनल परीक्षामा विद्यार्थीको मूल्यांकन गरिन्छ । राजनीतिक दल र नेताको मूल्यांकन यस्तै चुनावमा हुने हो । त्यसमा फेल भएपछि अपग्रेट हुँदैन । पार्टी संस्थागत रुपमा अगाडि बढ्न नसकेकै हो । पार्टीको संरचनागत विकास र नेताहरूलाई जिम्मेवारी दिन सकिएन। विवादले गर्दा केन्द्रीय समिति, विभिन्न विभागमा पदाधिकारीको नियुक्ति हुन सकेन । सरकारको नेतृत्व गरिरहँदा जनहित विपरित काम गरेका कारण अहिलेको नतिजा बेहोर्नु परेको हो ।
प्रजातान्त्रिक पार्टी्भित्र प्रजातान्त्रिक अभ्यास गर्नुपर्छ। प्रजातान्त्रिक अभ्यास गर्दा दलको विधि विधान अनुसार काम गर्नुपर्छ। तर, विधानअनुसार काम भएनन् । पार्टीको नेतृत्व परिवर्तन गर्ने सवालमा समयको मागअनुसार आवश्यकता ठहरिए, म नेतृत्वका लागि तयार छु । म राजनीतिमा त्यसै लागेको होइन । परिस्थितिले नेतृत्व गर्ने अवस्था आए पछाडि हट्ने कुरा आउँदैन । सबैलाई थाह छ, पार्टी्भित्र म निर्वा्चित महामन्त्री भइसकेको मान्छे। उपसभापति बनिसकेको मान्छे । सरकारमा पटक–पटक मन्त्री भइसकेको छु। उप्रप्रधानमन्त्री भइसकेको मान्छे । कांग्रेसको संसदीय दलको उपनेता भइसकेको हुनाले नेतृत्व गर्ने मापदण्ड पुगिसकेको छ । पार्टी्भित्र शेरबहादुर देउवापछि अनुभव, क्षमताका हिसावमा पनि उपयुक्त छु जस्तो लाग्छ। पार्टीको नेतृत्व मैले पाएको खण्डमा त्यो अस्वभाविक हुनेछैन ।
हामीले निर्वाचनको ‘म्यान्डेट’ मान्नुपर्छ । प्रजातान्त्रिक अभ्यासमा गइसकेपछि नतिजालाई सहर्ष स्वीकार्नु पनि पर्छ । अहिलेको ‘म्यान्डेट’ भनेको नेपाली कांग्रेसलाई प्रतिपक्षमा बसेर काम गर्न जनताले भनेका छन्। त्यसमा हामीले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । कांग्रेस अब प्रतिपक्षमा बस्नैपर्छ। जनताले दिएको ‘म्यान्डेट’ मान्नुपर्छ, त्यो धैर्यता हामीले पटक–पटक देखाइसकेका छौं । निर्वाचनका बेला हामीलाई धेरैले लोकतान्त्रिक गठबन्धन भन्थे । कतै, सबै मिलेर निर्वाचन लडेको देखियो। कतै आफैंबीच प्रतिस्पर्धा गरेको पनि देखियो । गठबन्धन भनेपछि सबैतिर एउटै नियम लागू हुनेपर्ने हो । तर, त्यो भएन। एकातिर कांग्रेसले समर्थन गर्ने, अर्कोतिर समर्थन गरेकै दलले कांग्रेस विरुद्ध उम्मेदवार उठाउने! यसैले हाम्रो गठबन्धनमा स्पष्टता देखिएन ।
पार्टीलाई अब संस्थागत रुपमा अगाडि बढाउन पूर्वाधार खडा गर्नुपर्ने आवश्यकता देखियो । पार्टी संस्थागत रुपमा सञ्चालन गर्न आवश्यक छ । पार्टीको विधि र नियमअनुसार सञ्चालन गर्न सबै लाग्नुपर्छ भनेर मैले पटक–पटक भन्दै आइरहेको छु । आफ्नो मान्छे हुल्न विधि प्रक्रिया केही होइन भन्ने परिपाटीले कांग्रेसलाई क्षति पुर्याएको छ । अहिलेको चुनावले पनि यही देखाइसकेको छ । हामीले विगतको कमजोरीलाई शिक्षाको रुपमा लिँदै सच्याउनु बाहेक अर्को उपाय छैन । अब कांग्रेसले पार्टी्भित्र शुद्धीकरण अभियान थाल्नुपर्छ ।