नेकपा सांसदको आरोप–डा. केसीलाई हिरो बन्ने मनोरोग छ

पोखरा, साउन ४ ।
चिकित्सा शिक्षा सुधारको लागि अनसनरत डा. गोविन्द केसीलाई गण्डकी प्रदेशका सत्तापक्षीय सांसदहरुले हिरो हुन खोजेको आरोप लगाएका छन् । सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकलाई सुधार गर्नुपर्ने मागसहित २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको पक्षमा शुक्रबारको संसद बैठकमा नेकपाका सांसदहरुले खुलेरै विरोध गरे । बिहिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाहीँ डा. केसीको जीवनरक्षाको माग गर्दै सदन अवरुद्ध गरेको थियो ।

‘डा. गोविन्द केसीलाई हिरोईज्म हुने मनोरोग लागेको छ । कर्मचारी भएर बिरामी चेक गर्नुको सट्टा उल्टै अनसन बस्ने ?, नेकपाका सांसद राजीव पहारीले भने–यस्ता पुराना र थोत्रा माग राखेर अनसन बस्नु उचित होईन् ।’ कसैले अनसन बसेकै भरमा सरकारले सबै कुरा पुरा गर्न नसक्ने उनको प्रतिक्रिया छ । डा. केसीको मागलाई राजनीतिक मुद्धा बनाएको भन्दै उनी कांग्रेसमाथि पनि खनिए ।

यस्तै, नेकपाका अर्का सांसद ईन्द्रलाल सापकोटाले एउटा व्यक्ति अनसन बस्दैमा संसदको विधी र प्रक्रिया नरोकिने जनाए । ‘निर्वाचन हारेपछि ५ वर्षसम्म कुर्न सक्नुपर्छ, प्रतिपक्षको भूमिका देखाउनुपर्छ । व्यक्तिको मुद्धालाई सदनमा ल्याउनु उचित हुँदैन्, कांग्रेसले गरेको सदन अवरुद्धप्रति ईगिंत गर्दै उनले भने–कांग्रेस प्रधानमन्त्रीको पालामा पनि डा. केसी अनसन बसेको स्मरण होस् ।’ सांसद दिपक कोईरालाले सरकारले गोविन्द केसीलाई बचाउनको लागि ल्याउन खोज्दा केही दलहरुले राजनीतिक मुद्धा बनाएका कारण जुम्लामा घटना हुन पुगेको बताए । विशेष समयमा बोलेका कोईरालाले फरक प्रसंगमा पर्यटनमा आउने विदेशीहरुलाई व्यापार गर्न दिन नहुने कुरा उठाए ।

शुक्रबार गण्डकी प्रदेशसभामा शून्य र विशेष समयमा सांसदहरुले बोलेका थिए । अधिकांश सांसदले बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बन्द रहेको भृकुटी कागज कारखानाका ३ सय ३३ मजदुरले अहिलेसम्म पनि पाउनुपर्ने सेवा सुविधा नपाएको विषयमा ध्यानाकर्षण गराए । शुक्रबार बसेको दोश्रो बैठकले प्रदेशसभा सचिवालय ब्यवस्थापन गर्न बनेको बिधेयक टेवुल गरी सैद्धान्तिक छलफल समेत सकेर विधायन समितिमा पठाईएको छ । कानुनमन्त्री हरिबहादुर चुमानले बिधेयक टेवुल गरेका थिए ।

File Photo