नेकपा गण्डकी प्रदेशका जिल्ला र स्थानीय तहमा पार्टी संयन्त्र गठन (को–को परे?)

पोखरा, असोज १८ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र स्थानीय तहको कार्य जिम्मेवारी तोकेको छ । प्रदेश कमिटिले बुधबार बैठक बसेर कार्यविभाजन गरेको हो । जिल्ला, महानगर, नगरपालिका र गाउँपालिकामा १० सदस्यीय पार्टी संयन्त्र गठन भएको छ ।

जिल्ला संयन्त्रमा तत्कालीन नेकपा एमालेबाट जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव छन् भने तत्कालीन माओवादी केन्द्रबाट इन्चार्ज, सहइन्चार्ज र संयोजक सहित ५ जना गरी १० सदस्य छन् । महानगरमा सोहीअनुसारको १० सदस्यीय, नगरपालिकामा ८ र गाउँपालिकामा ६ सदस्यीय संयन्त्र गठन गरिएका छन् ।

संयन्त्रले पार्टीको विधान, नियमावली र पार्टीको थप निर्देशनलाई आधार मानी महानगर, नगर र गाउँपालिकाको पार्टी एकीकरणका लागि प्रदेश कमिटीलाई सुझाव पेश गर्नेछ । असोज २७ गते भित्रै जिल्ला संयन्त्रको बैठक बसिसक्नुपर्ने प्रदेश अध्यक्ष हितराज पाण्डेले बताए ।

तल्ला कमिटीका लागि आवश्यक प्रश्ताव यसअघिकै कार्यदलले पठाईसकेको छ । अहिले गठन भएको संयन्त्रले काम नै अघि बढाउने अध्यक्ष पाण्डे बताउँछन् । ‘पार्टी एकीकरणको लागि भन्दा पनि काम नै अगाडी बढाउनका लागि संयन्त्र गठन गरिएको हो । यही संयन्त्र अनुसार तल्ला तहमा अव काम सुरु हुन्छ, उनले भने–कमिटी गठन चाहीँ कार्यदलले यसअघि नै पठाएको सुझावका आधारमा केन्द्रिय कमिटीले गर्नेछ ।’

प्रदेश कमिटिले विहिबार पत्रकार सम्मेलन गरी संयन्त्र गठनबारे जानकारी गराएको हो । कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रका केही नेताहरुको अभिब्यक्तिले पार्टीको प्रतिष्ठामा नै असर परेको बताए । उनको संकेत बरिष्ठ नेता माधवकुमार नेपाल तिर थियो । ‘बरिष्ठ नेताको अभिब्यक्तिले पार्टीको प्रतिष्ठामा गम्भीर असर परेको छ, उनले भने–वहाँले पहिलेको एमालेको विधान हेरेर बोल्नुभएको छ । नेकपाको नयाँ विधान हेरेर परिमार्जित हुनुपर्छ ।’

सह इन्चार्ज खगराज अधिकारीले नेकपा एकीकरणको प्रक्रियामा भएकोले छिटोभन्दा छिटो आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । हामीले जिम्मेवारी लिएका छौं । त्यसैले संयन्त्र भनेर संक्रमणकालीन ब्यवस्था गरेका हौं, उनले भने–छिटोभन्दा छिटो हाम्रो जिम्मेवारी पूरा गर्छौं ।’