नेकपामा जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाइँदै, को होलान् कास्कीमा ?

काठमाण्डौं, असार २८ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड जिल्ला कमिटीको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने गृहकार्यमा लागेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग यो विषयमा छलफल गरेका हुन् । दुवै अध्यक्षले असार मसान्तभित्र साङ्गठनिक एकता, पोलिटब्युरो गठन, कार्य समितिको कार्य विभाजनलगायतका कार्य टुङ्गो लगाउनेगरी गृहकार्य गरिरहेको प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले दुवै अध्यक्षको बीचमा विभिन्न मापदण्डको विषयमा छलफल भइरहेको जानकारी दिँदै असार २९ गते सचिवालयको बैठकबाट सबै कुराको टुङ्गो लगाउने बताए ।

कास्कीमा हालका केन्द्रीय सदस्य राजकाजी गुरुङको नाम अगाडी छ । यद्यपी पोखरा महानगरका मेयर मानबहादुर जिसी पनि ईञ्चार्ज बनेर काम गरिसकेका हुन् । दुईमध्ये एकजनालाई इञ्चार्ज बनाउने तयारी बुझिएको छ ।