नेकपाको गण्डकी प्रदेश कमिटी १८७ सदस्यीय हुने-एमालेलाई ९९, माओवादीलाई ८८ सदस्य

पोखरा, कार्तिक ८ ।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटी लगभग टुंगिएको छ । औषतमा ५५–४५ प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरि एकीकरण भएका दुई पार्टीबीच सहमति गरिएको हो ।

केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेललाई जिम्मा लगाएको छ । यसअघि गठित कार्यदलले सिफारिस गरेका नाम र संख्यालाई नवगठित प्रदेश कमिटीका चार सदस्यीय पदाधिकारीले छलफल गरी सचिवालयलाई बुझाउने क्रम जारी छ ।

प्रदेश कमिटीका पदाधिकारीहरुसँगको छलफल र यसअघिका कार्यदलले दिएको रिपोर्टका आधारमा प्रदेश कमिटीका सदस्यहरु टुंगो लगाइने महासचिव पौडेलले बताए । कतिपय प्रदेश कमिटीले स्थानीय तहको एकीकरणको कामसमेत अघि बढाइसकेका छन् ।

गण्डकी प्रदेशमा १ सय ८७ सदस्यीय कमिटी बन्ने भएको छ । जसमा पूर्वएमाले ९९ र पूर्वमाओवादी ८८ जना सदस्य रहनेछन् । यहाँ प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ र सहइञ्चार्ज खगराज अधिकारी चयन भइसकेका छन् । गण्डकी प्रदेशको अध्यक्षमा हितराज पाण्डे र सचिव गोविन्दवहादुर नेपाली छन् ।