नेकपाको एकता अलमलमा, ओली, प्रचण्ड र नेपालबीच भागबन्डामा किचलो

काठमाण्डौं, फागुन ४ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अलमलमा परेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको हो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा नमिलेपछि एकता अलमलमा परेको हो ।

तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्र पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन् । घोषणा भइसकेका प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

नेकपाका एक नेताका अनुसार मुख्य समस्या तीन नेतामा नै रहेका कारण एकता टुंगो लाग्न नसकेको हो । अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालबीच भागबन्डा मिल्न नसकेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको दाबी उनले गरे ।

‘अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपालबीच भागबन्डा नमिलेकै कारण एकतामा ढिलाइ भइरहेको छ,’ ती नेताले भने, ‘नेकपा अब नेकपा रहेन, प्रालि जस्तो भइसक्यो, कार्यदल गठन हुन्छ, सचिवालय छ तर पनि तीन कम्पनीका बीचमा भागबन्डा नमिलेरै एकता टुंगो अलमलमा परेको छ ।’