नेकपाका मुख्य सचेतक भट्टराईलाई जापान छिर्न रोक !

काठमाण्डौं, साउन २५ ।
नेकपाका युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन त्यहाँ पुगेका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो ।

राष्ट्रियसभामा नेकपाको तर्फबाट मुख्य सचेतक समेत रहेका भट्टराईसँगैको भ्रमण टोलीमा नेकपाकै अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत रहेको श्रोतले बताएको छ । नेता भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पुर्याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो ।

गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् । यद्यपि, गौतमले नेता भट्टराईलाई जापानले रोकेको भन्ने विषयमा आफु अनविज्ञ रहेको बताए । उनले हिरोसिमामा निशस्त्रीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको र नेपालबाट भट्टराईको नेतृत्वमा टोली पठाइएको बताए ।

विमानस्थलबाटै फर्काइएको भन्ने विषयमा नेता भट्टराईसँग टेलिफोनमार्फत बुझ्न खोज्दा उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन । जापानको हिरोसिमास्थित होटलमा भट्टराईलाई स्वागत गर्न नेपाली प्रतिनिधिहरु उपस्थित रहेपनि उनी होटलसम्म पनि नपुगेको एक प्रतिनिधिले जानकारी दिए ।