नेकपाका नेताहरु किन ढल्किए चीनतिर ?

काठमाण्डौं, कार्तिक ९ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूमा आश्चर्यजनक चीन मोह देखिएको छ । नेकपाका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमण गरेका छन् । नेकपाका नेताहरू कहिले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा, कहिले चिनियाँ सरकारको त कहिले निजी भ्रमणमा चीन गएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले तत्कालीन एमाले र माओवादीबीच चुनाव गठबन्धनदेखि पार्टी एकतासम्ममा चिनियाँ चासोले काम गरेको प्रचार गरिरहेका बेला एकीकृत पार्टीका नेताहरूको लगातारको चीन भ्रमण आश्चर्यजनक मानिएको हो । कुनै बेला नेपालका नेताहरूको दिल्लीमा बाक्लो भ्रमण हुने गथ्र्यो भने अहिले उत्तरी छिमेकको भ्रमण नेकपाका नेताहरूको प्राथमिकतामा परेको छ ।

पार्टी एकता पछिका पाँच महिनामा नेकपाका शीर्ष नेतृत्वदेखि अन्य नेताहरूले धेरै पटक चीन भ्रमण गरेका छन् । नेपालबाट चीनमा हुने उच्चस्तरीय भ्रमण पहिले सरकार–सरकारकाबीचमा मात्र हुने गरेकामा पछिल्लो पटक पार्टी–पार्टीहरूको बीचमा पनि भ्रमण हुन थालेको छ । पछिल्लो पटक हुने अधिकांश उच्च स्तरीय भ्रमण चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा असार ५ देखि छ दिवसीय चीन प्रस्थान भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र केही सांसदहरूले चीन भ्रमण गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण भेटघाट र सम्झौता भएका थिए ।

अहिले पनि नेकपाका दुई नेता चीन भ्रमणमा छन् । उपप्रधान तथा रक्षामन्त्री बेइजिङमा हुने अन्तर्रा्ष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन अहिले चीन भ्रमणमा छन् । उनको भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियय चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।

यसै गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अहिले चीन भ्रमणमा छन् । यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै भदौ २९ देखि असोज ५ सम्म चीन भ्रमण गरेका थिए ।

पार्टी एकताका बेला चीन भ्रमणमा रहेका झलनाथ खनालले पनि दुई पटक चीन भ्रमण गरिसकेका छन् । यसबाहेक प्रचण्डले पनि भदौ अन्तिम सातामा चीन भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको भेट तय नभएपछि प्रचण्ड बेइजिङ भने पुगेका थिएनन् । प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका थिए । चारदिने चीन भ्रमण सम्पन्न स्वदेश फर्कने क्रममा उनले नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिएका थिए ।

असारमा वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा गएका थिए । त्यसलगत्तै असोज तेस्रो साता नेपाल दोस्रो पटक चीन भ्रमणमा गएका थिए । यसबाहेक नेकपाकै नेतासमेत रहेका सभामुख, कृष्णबहादुर महरा पनि भदौ तेस्रो साता चीन भ्रमणमा गएका थिए । नेकपाका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित असोज पहिलो साता चीन भ्रमण गएका थिए ।

यो बीचमा दुई जना मुख्यमन्त्रीले पनि चीन भ्रमण गरेका छन् । नेकपाका नेता एवम् कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही असोज पहिलो साता, नेकपाका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ असोज दोस्रो साता चीन भ्रमण गरेर फर्केका छन् । यी दुई मन्त्रीको पहिलो विदेश भ्रमण चीनबाट भएको छ । यसबाहेक नेकपाबाटै उपराष्ट्रपति बनेका नन्दबहादुर पुनले पनि असोज पहिलो साता चीन भ्रमण गरेका थिए । नेकपाका नेता मात्रै होइन धेरै कार्यकर्ताले पनि चीन भ्रमण गरिसकेका छन् ।

नयाँ बहस
एक्कासि नेताहरूको चीन मोह बढ्नुले राजनीतिक वृत्तमा नयाँ बहस पनि सुरु गराएको छ । पछिल्लो समय नेपालमा भारतको स्थान चीनले लिन थालेको भन्ने बहस पनि सुरु भएका छन् । नेपालमा ‘किङ् मेकर’को भूमिकामा पछिल्लो समय चीन आएको कूटनीतिक मामलाका जानकार बताउँदै आएका छन् । कूटनीतिक क्षेत्रका जानकार पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक चीनतर्फ बढ्नुका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव मुख्य कारण बताउँछन् ।

आखिर किन नेकपाका नेताहरूमा चीन मोह बढ्दै गएको छ ? चीनका लागि नेपालका एक पूर्वराजदूत चीनले नेपालमा भारतको हस्तक्षेपकारी भूमिकालाई विस्तापित गर्न चाहेको कारण खासगरी नेकपाका नेताहरूलाई लगातार चीन भ्रमण गराइरहेको ठान्छन् ।–पत्रकार बबिता शर्माले रातोपाटीका लागि यो समाचार लेखेकी हुन् ।