निलम्बित सांसद आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश
रौतहट, कार्तिक ८ ।
नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
छानबिन गर्न प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले सहमति जनाएको हो ।
रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको अदालतका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिए ।
यसअघि थपिएको ५ दिनको म्याद हिजो सकिएपछि आलमलाई आज अदालत लगेर म्याद थप गरिएको हो ।
भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गर्न लागिएको हो ।
आलम गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न लागिएको हो ।
आलम रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाई इट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका हुन् ।(ईमेजखबरबाट साभार)