निर्मला हत्याकाण्ड–कञ्चनपुरका एसपी विष्टको निलम्बन

काठमाण्डौं, भदौ ९ ।
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निष्पक्ष छानविनमा विवादित व्यक्तिका रुपमा रहेका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट निलम्बलनमा परेका छन् । अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष छानबिन नभएसम्म विष्टलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो ।

शनिबार गृहमन्त्रालयले एसपी विष्टलाई निलम्बन गर्न तथा डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेड्क्वार्टर बोलाउन निर्देशन दिएको हो । बलात्कारपछि भएको हत्याको विरोधमा कञ्चनपुरमा आन्दोलन हुँदा जिल्लाको नेतृत्व सम्हालेका विष्टले सुनुवाई नगरेको भन्दै बिहिबार मात्रै फिर्ता बोलाएको थियो ।

आन्दोलनले चर्को रुप लिएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपी विष्ट र डीएसपीलाई फिर्ता बोलाएको थियो । घटनामा स्थानीयको दवाव पछि निर्मला गएको घरका दुई किशोरी पनि पक्राउ परेका छन् ।