निर्मला पन्तको हत्या रहस्यमय–आमाले रगत दिएपछि बाबु आक्रोशित

कञ्चनपुर, पुस २६ ।
निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो कि होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि परिवारमा विवाद सुरु भएको छ । आफुँलाई नसोधि रगत दिएको भन्दै बाबु यज्ञराज पन्तले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।

‘रगत किन दिइस, मलाई फसाउन खोज्ने तँ ? भन्दै कुटपिटको प्रयास भयो’ दुर्गादेवीले भनिन्, ‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे ।’ राहत बुझेमा घरमै आत्महत्या गर्दिने भन्दै धम्कीसमेत दिएको दुर्गादेवीले बताईन् ।

भीमदत्त नगरपालिका २ उल्टाखाममा घरमा कान्छी श्रीमती लक्ष्मीसहित पुगेका यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए । यज्ञराजले घरमै गएर जेठी श्रीमतीमाथि कुटपिटको प्रयास गरेको खबर पाएपछि कञ्चनपुर प्रहरीले सुरक्षाकर्मी पठाएको थियो । यज्ञराजले भने कुटपिटको प्रयास नगरेको दाबी गरे । ‘म घरमा सम्झाउन मात्रै गएको हुँ’, उनले भने, ‘मैले कुटेको छैन् ।’

निर्मलाकी आमा दुर्गादेवीले भने ६ महिना बितिसक्दासमेत हत्यारा पत्ता नलागेको र न्यायकै लागि भौतारिरहँदा घरपरिवार सञ्चालनमा समस्या भएको भन्दै राहत लिएर केही काम गर्न खोजेको बताएकी छन् । ‘अनुसन्धानमा सहयोग नै मिल्ला भनेर नै मैले रगत दिएकी हुँ’उनले भनिन्, ‘मलाई मेरी छोरीका बलात्कारी र हत्यारा चाहिएका हुन्, जसरी हुन्छ न्याय मिलोस् भनेरै मैले रगतको नमुना दिएकी हुँ ।’

निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाबको वैद्यता माथि नै प्रश्न उठेपछि केहीदिन अघि अधिकारकर्मीले निर्मलाका बुवाआमाको रगतको नमुना संकलन गरेर देखाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष आग्रह गरेका थिए । दुर्गादेवीले छोरीको न्यायका लागि आफ्नो रगतको नमुना चाहिने भए दिन तयार रहेको बताउँदै आएकी थिइन् ।

स्वेच्छाले नै दुर्गादेवीले बुधबार रगत दिएकी थिइन् । ‘मैले श्रीमानसंग ३–४ दिनदेखि रगतको नमुनासँगै दिऔँ भनेकी हुँ’ उनले भनिन्,‘ अहिले आएर किन दिइस् नसोधी भनेर कुटपिटको प्रयास गरे ।’ साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो । उनको साउन १० गते नै बलात्कारपछि हत्या गरिएको थियो ।