निर्मलाको हत्यारा भनिएका विशाल चौधरी भन्छन्–गोली ठोकेर मार्छौँ भने, डरले हत्या गरेको स्विकारें

काठमाण्डौं, पुस ९ ।
प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लो पटक पक्राउ गरिएका २ किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।

पक्राउ परेका मध्ये विशाल चौधरीलाई प्रहरीले छाडिसकेको छ । उनले प्रहरीले हिरासतमा कुट्नेदेखि मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् ।

छुटेपछि के भने विशालले ?

मंसिर १९ गते प्रहरीले मलाई समात्यो । निर्मलालाई अपराध गरेको होस् कि होइनस् भनेर सोधे । मैले होइन भन्दा मेरो आँखामा पट्टी बाँधिदिएर लात्तैलात्ताले कुटे । झुट बोलिस् भने गोली ठोकेर मार्छौँ, सत्य बोलिस् भने प्रहरीमा जागिर लगाइदिन्छौँ भने । जागिर लगाइदिन्छन् भन्ने आस त थिएन, तर बाँच्न पाए हुन्थ्यो भन्ने लाग्यो ।

त्यसैले ‘हो, मैले गरेको हुँ’ भनिदिएँ । फेरि काठमाडौंमा पक्राउ परेको प्रदीप रावलले तेरो नाम लिएको छ, तिमीहरू मिलेर गरेका रहेछौ भनेर स्विकार्न दबाब दिइरहे । गालामा पटकपटक हानिरहेका थिए, त्यसैले मैले हो भनिदिएको हुँ ।

मैले हो भनेर बयान दिएपछि मंसिर २० गते जहाजबाट काठमाडौं लगे । बुबा पनि जहाजमै हुनुहुन्थ्यो, तर बोल्न दिएनन् । उहाँलाई अगाडि राखेका थिए, मलाई सबैभन्दा पछाडि । काठमाडौं पुगेपछि पिटेनन्, तर पिट्छन् भन्ने डर लागिरहेको थियो, त्यसैले उनीहरूले जे चाहेका छन्, त्यही भनिदिएँ । बुबाका सामुन्ने पनि हो भनिदिएँ । तर, अदालत गएपछि डरले हो भनेको हुँ, तर मलाई घटनाबारे केही थाहा छैन भनिदिएँ । डिएनए रिपोर्ट पनि मिलेनछ, त्यसैले छुटकारा पाएँ ।–Nayapatrika