निर्मलाका बाबु आईसीयुमा, आमा दूर्गादेवीलाई पीरमाथि पीर !

काठमाण्डौं, मंसिर १० ।
बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२४ दिन बितिसकेका छन् । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ ।

संघर्षमा दिन बित्तै जाँदा कमजोर बन्दै गएको न्यायको आश त एकातिर छँदै छ, त्यही न्यायको लडाइँमा लागिरहेका श्रीमान यज्ञराजको स्वास्थ्य बिग्रिएपछि दुर्गादेवीलाई पीरमाथि पीर थपिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा दोषी पत्ता नलाग्नुले न्यायविहीन राज्यको आभास गरिरहेकी दुर्गादेवीले हिम्मत नहारी लडिरहेकी छिन् । अब उनलाई सावित गर्नु छ ‘न्याय पाउनुभन्दा ‘बौलाउनु’ निको होइन ।’

डाक्टर भन्छन्–तनावकै कारण मानसिक समस्या

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि कात्तिक २५ गते आइतबारदेखि धर्नामा बसेका श्रीमानले गएको हप्तादेखि केही अस्वाभाविक व्यवहार देखाउन थाले । छोरीको हत्यारा पत्ता लागोस् भनेर न्यायको आवाज निकालिरहेका यज्ञराजको अस्वाभाविक बोली र व्यवहारले दुर्गादेवीको मन झनै कुँडियो ।

‘यस्तो अवस्थामा श्रीमानको आधार चाहिन्छ नै, छोरीको न्यायको लागि भन्दाभन्दै श्रीमानको बिकराल अवस्था आयो । अब त हामी के गरी सम्हालिउँला’ सोमबार त्रिवि शिक्षण अस्पतालमा भेटिएकी दुर्गादेवीले मन भारी पारेर भनिन् ।

आइतबार बेलुका कञ्चनपुरबाट काठमाडौं उपचारका लागि ल्याइएका यज्ञराजको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनमा तनावकै कारण मानसिक समस्या देखिएको हो ।